आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

गाईजात्रा महोत्सव २० गते

गाईजात्रा महोत्सव २० गते


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार

पोखरा/पोखरामा यही भदौ २० गते शनिबार २७ औं तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव हुने भएको छ । नेवाःखल कास्कीको आह्वानमा लामाचौर नेवाः खल गुठीले यो वर्षको कार्यक्रम पोखरा–१६ स्थित लामाचौर चोकमा आयोजना गर्न लागेको हो ।

तायाःमचा संस्कृतिलाई जोगाउन र यसको प्रवद्र्धन गर्न हरेक वर्ष यो प्रतियोगिता हुँदै आएको छ । नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको १ वर्षभित्र गाईजात्रा निकाल्ने चलन छ; जसमा बाजासहित गरिने नाचलाई तायाःमचा भनिन्छ । यो वर्ष भदौ १३ गते गाईजात्रा परेको छ ।

गाईजात्राको दिन बजार परिक्रमा गर्दा राति हुने भएकाले सबैको सहजताका लागि त्यसपछिको पहिलो शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको नेवाःखल कास्की अध्यक्ष अशोक पालिखेले बताए । अध्यक्ष पालिखेले पछिल्ला समयमा तायमचा सबै पोखरेली र जातजातिको पर्व बनेको उल्लेख गरे ।

२७ वर्षदेखि पोखराका विभिन्न स्थानमा हुँदै आएको यो प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको हो । प्रतियोगिताका मूल आयोजक समिति संयोजक सुशीलकुमार श्रेष्ठले पहिलो पटक लामाचौरमा कार्यक्रम गर्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गरे । उनले यो प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति आकर्षित गर्ने र सीप हस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे ।

यो वर्ष प्रतियोगितामा ३८ वटा टिम सहभागी हुने अनुमान छ । लामाचौर नेवाः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठका अनुसार तीमध्ये १२ वटा टिम महिलाका हुनेछन् । अप्रतियोगीसहित कुल ४० टिम सहभागी हुने बताइएको छ । बाटुलेचौर र छोरेपाटनले यसपटक पहिलो पटक सहभागिता जनाउँदैछन् भने आयोजक भएकाले लामाचौरले अप्रतियोगीका रूपमा मात्र प्रस्तुति दिनेछ ।

कास्कीमा नेवाःखलका ४८ वटा शाखा रहे पनि पातलो बस्ती र बसाइँसराइका कारण ८ ठाउँमा तायाःमचा नाच निकाल्न नसकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खुलातर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, तेस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना स्थान हाँसिल गर्ने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

महिलातर्फकाविजेताले ४० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ, तेस्रोले २५ हजार रुपैयाँ र सान्त्वनाले २० हजार रुपैयाँ पाउनेछन् । सहभागी प्रत्येक टिमलाई प्रोत्साहन स्वरूप १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->