बागलुङ (खर्वाङ)/विगत ३६ वर्षदेखि खर्वाङको डुडियाचौरमा पञ्चमीको भोलिपल्ट हुँदै आएको तीजगीत तथा नृत्य प्रतियोगिता यस वर्ष नहुने भएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बडिगाड गाउँपालिका–२, खर्वाङले गर्दै आएको कार्यक्रम यसवर्ष स्थगित गरिएको अध्यक्ष रुके पुरीले जानकारी दिए ।
महासंघले देशमा परेको ठूलो प्राकृतिक विपत्तिका कारण यस वर्षको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति पु¥याएको र धेरै परिवार विस्थापित भई सिङ्गो देश नै शोकमा परेकाले उत्सव मनाउने अवस्था नरहेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष पुरी र सचिव अनिष पाठकद्वारा जारी विज्ञप्तिमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई उच्च प्राथमिकता दिँदै सम्पूर्ण प्रतियोगितात्मक तथा सांस्कृतिक कार्यक्रमहरू स्थगित गरिएको बताइएको छ । साथै महासंघले तीज पर्वलाई फजुल खर्च र भड्किलो नबनाई सादगीका साथ मनाउन नागरिकमा आह्वान गरेको छ ।
कार्यक्रमका लागि छुट्याइएको स्रोत, साधन तथा आ–आफ्नो सामथ्र्य अनुसार बाढी पीडितको राहत र उद्धार कार्यमा सहयोग गर्न पनि महासंघले अपिल गरेको छ । महासंघले यसअघि कोरोना माहामारीको समयमा पनि कार्यक्रम स्थगित गरेको थियो ।





