आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

सडकमै फ्लास फ्लड !

सडकमै फ्लास फ्लड !

भोटेकोशीको आकस्मिक बाढीले तबाही मच्चाइरहे का बेला पोखराको सडकमै उर्लिएको भेलबाट मानवीय क्षति


  • फडिन्द्र अकिञ्चन
  • भाद्र १४ २०८३, आइतबार

पोखरा/न दर्कने झरी, न भूकम्प, न त कुनै पूर्वसूचना; बुधबार अचानक महाविपत्ति आयो ।

रसुवाबाट आएको फ्लास फ्लड अर्थात् आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली हुँदै कतिलाई लपेट्यो; यकिन भइसकेको छैन । शुक्रबार फेरि त्यसको ‘परकम्प’ देखियो; हिमतालको बाँकी भागबाट भत्केर फेरि सानोतिनो बाढी उर्लियो । त्यही परकम्पका बेला पर्यटन राजधानी पोखराको सडकले पनि फ्लास फ्लडको झल्को दियो ।

झल्कोमात्र दिएन; ३ जनाको ज्यान नै लियो । पोखरा–३०, ढुंगेपाटनका कमल दाहाल श्रीमती शुष्मा र छोरी लिएर विरौटातर्फबाट पृथ्वीचोक जाँदै थिए । दिउँसोबाट परेको दर्के झरीले पोखराको सडकमा नै भेल उर्लिइरहेको थियो । भेल पार गर्न सकस पर्ने ठानेर उनले किनारमा स्कुटर रोके ।

श्रीमती शुष्मा र छोरी रोनिकालाई उत्रिन भने । उत्रिने क्रममा रोनिका सडकको भेलमा पुगिन् । घडीमा ४ बजेको थियो । उर्लिदो भेलले उनलाई बगाइहाल्यो; बचाउन दौडिएकी शुष्मा पनि भेलमै अलप भइन् । जहाँ उनीहरुलाई बगाएको थियो; त्यहाँको सडकको नाला खुला थियो । केही तलबाट नाला छोपिएको थियो; छोपिएको नाला हुँदै बगेका आमाछोरीलाई बीचमा कसैले निकाल्न सक्ने कुरै भएन ।

कमलले प्रहरी र स्थानीयसँग हारगुहार गरे । करिब डेढ किलोमिटर तल राम मन्दिर जाने बाटो नजिक नाला खुला थियो । त्यही प्रहरीले शुष्मा र रोनिकालाई निकाल्यो । वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटी बेहोस अवस्थामा उनीहरुलाई नालाबाट निकालेको सुनाउँछन् । उनी भन्छन्, ‘निकाल्दा दुवै जना बेहोस हुनुहुन्थ्यो; दुवैलाई उद्धार गरी अस्पताल पठायौँ ।’ राति नै आमाछोरीकै मृत्यु भयो । २ जनाको उद्धार गरी अस्पताल पठाइएकोमा मृत्यु हुँदा संख्या ३ भयो । अर्थात्, शुष्मा गर्भवती थिइन् ।

महानगरको मुख्य सडकमै बगेको पानीले ज्यान लिएपछि पोखराको सडक सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ । रसुवाको फ्लास फ्लडको रन्कोमा यो घटनाबारे केही कम चर्चा भए पनि सामाजिक सञ्जालमा सडक सुरक्षाबारे अनेक बिमर्श भइरहेका छन् ।

ठूलो पानी पर्दा पोखराका सडक नै खोलाको बाढी जस्तो देखिन्छन् । आकासे पानी थाम्ने विकल्प र व्यवस्थित ढलको प्रबन्ध नहुँदा बारम्बार दुर्घटना हुने गरेका छन् । २०७९ भदौमा पनि पोखराको सडकमा उर्लिएको भेलले एक बालकको ज्यान लिएको थियो । पोखरा–१६, दीपका ११ वर्षीय रविन तवारी आमासँगै हिडेका बेला चिप्लिएका थिए । दुर्भाग्य, केही बेरपछि उनी मृत फेला परे । पोखराको सडककै नालीमा २०७३ मा २ जना र २०७४ मा एक जनाको ज्यान गएको थियो । बारम्बार विपद् आइरहे पनि सरोकारवालाले गतिलो तयारी गरेनन्; शुक्रबार फेरि दुर्दशा दोहोरियो ।

पोखरा विश्वविद्यालयका उपप्राध्यापक इन्जिनियर सुन्दर अधिकारी सडक सुरक्षामा ध्यान नपुग्दा दुर्घटना निम्तिएको बताउँछन् । उनी भन्छन्, ‘यस्ता घटना पहिले पनि भएका थिए; उचित कदम चालिएन ।’ पोखराको वस्तुस्थिति अनुसार यहाँको ढल र पानीको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

दुर्घटना भएको सडक सिद्धार्थ राजमार्ग हो । पोखरा महानगरका मेयर धनराज आचार्य सडक विभागको स्वामित्वमा पर्ने यो सडकमा बारम्बार व्यवस्थानको कुरा उठाए पनि काम नभएको दाबी गर्छन् । ‘हामीले धेरै पटक कुरा राखेका हौँ, आइतबार आकस्मिक बैठक राखेका छौँ,’ उनले भने, ‘सडकसँग छलफल गरी आवश्यक निर्णय लिन्छौँ ।’

दुर्घटनाका बेला व्यवस्थापनको चर्चा हुने र समय बितेसँगै त्यो सेलाउने गरेको छ । अधिकारकर्मी सुनिल पाण्डे विपद्बाट पाठ नसिके ठूलो मूल्य चुकाउनुपर्नेतर्फ सजग हुन आग्रह गर्छन् । उनी भन्छन्, ‘महानगरमा पर्ने राजमार्गमै भलले बगाएर मान्छे ज्यान गयो; अब महानगर वा सडक विभाग भनेर भएन; काम हुनुप¥यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->