बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ खुदुर्केमा प्रहरी चौकीको भवन बन्ने भएको छ । कालीगण्डकी किनारमा मलामीको लागि बनाईएको पाटीबाट सेवा दिँदै आएको मालढुंगा प्रहरी चौकीको भवन भएको बन्ने हो ।
२०५१ सालमा बागलुङमा नियमित गाडी चल्न थालेपछि खुदुर्केस्थित कालीगण्डकी नदीको पुल छेउबाट प्रहरीले सुरक्षा दिन थालेको थियो । चौकी बसेको छाप्रो सडक मापदण्डमा परेर हटाईएपछि मलामीका लागि बनाइएको पाटीबाट कार्यसम्पादन हुँदै आएको थियो ।
बागलुङ नगरपालिका र नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बीच भएको ६ बुँदे सम्झौता भएपछि प्रहरी चौकीको भवन बन्ने बाटो खुलेको हो । इस्कोनको स्वामित्वमा रहेको लक्ष्मीनारायण मन्दिरको जग्गामा प्रहरी चौकीको सुविधा सम्पन्न भवन बन्ने छ ।
बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेल र इस्कोनका अध्यक्ष प्रदिप भण्डारीले हस्ताक्षर गरेको सम्झौता पत्रमा बागलुङ नगरपालिकाले जग्गा भाडाबापत मासिक १ हजार बुझाउने, जग्गा भाडा सम्झौता २५ वर्षसम्म कायम रहने, सम्झौता अवधि सकिए आपसी सहमतिमा सम्झौता नविकरण गर्न सकिने उल्लेख छ ।
यस्तै भाडाको जग्गामा प्रहरी चौकी बाहेक अन्य संरचना बनाउन नपाइने र विद्युत र खानेपानीको महशुल प्रहरी चौकीले बुझाउनुपर्ने सम्झौता भएको छ । नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उप–प्रमुख राजु खड्कालगायतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईंको रोहबार सम्झौता गरिएको हो ।
मालढुंगा प्रहरी चौकी निर्माणका लागि गण्डकी प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको छ । ‘‘जग्गा प्राप्त नहुँदा चौकी निर्माणको काममा बिलम्ब भएको थियो, अब जग्गा प्राप्ती र बजेट सुनिश्चित भइसकेकोले भवन बनाउने काम तत्काल कार्यान्वयनमा जान्छ’’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने ।
प्रहरी चौकीको सुविधा सम्पन्न भवन बनेपछि कार्यसम्पादन गर्न निकै सहज हुने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाती बताउँछन् । ‘‘नागरिकको सुरक्षा गर्ने प्रहरीले ओत् लाग्ने गतिलो ठाउँसमेत थिएन, व्यारेक र आवाससहितको भवनबाट काम गर्न उर्जा थप्ने छ’’ त्वातीले भने ।
भवन बनेपछि गैरकानूनी काम गरेकालाई नियन्त्रणमा लिएर राख्न सकिने, एउटै छानोमुनि खानेबस्ने, सुत्ने र कार्यालय संचालन गर्नुपर्ने बाध्यता हट्ने त्वातीले बताए ।





