आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

पोखरामा शव व्यवस्थापनको सकस

पोखरामा शव व्यवस्थापनको सकस


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८३, आइतबार

पोखरा/भोटेकोशीमा आएको बाढीपछि पोखरामा ल्याइएका शवमध्ये पहिचान हुन नसकेकाको वैकल्पिक व्यवस्थापन गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका शवहरू पहिचान हुन नसकेपछि व्यवस्थापबारे गृहकार्य थालिएको हो ।

शनिबारसम्म १० वटा शवको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ । बाँकी शवबाट दुर्गन्ध फैलिन थालेको छ भने नचिनिने अवस्थामा रहेका शवलाई तत्काल व्यस्थापन गर्ने तयारी भएको कास्कीका सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

‘लामो समय शव राख्दा बिग्रिने भएकाले व्यवस्थापनमा पनि अप्ठ्यारो हुने देखिएको छ । अब पहिचान नभएकालाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ र अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) को विपद्सम्बन्धी गाइडलाइनलाई ध्यानमा राखेर भविष्यमा पनि पाइने गरी डिएनएका लागि सबै नमूना लिएर व्यवस्थापन गर्ने तयारीमा छौं’, उनले भने, ‘बाँकी विवरण नेपाल प्रहरीको वेबसाइटमा रहने छ । क्युआर गरेर सबै विवरण हेर्न सकिन्छ । यो काम १–२ दिनमै हुन्छ ।’

व्यवस्थापनका लागि आइतबार काम सुरु गर्ने तयारी छ । १०२ शव पोखरा ल्याइएकोमा १० शव आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा अस्पतालमै जाहेरी दर्तादेखि सबै प्रक्रिया मिलाउने प्रबन्ध गरिएको छ । सबै शवको फोटो, भिडियो लिनेदेखि शरीरमा रहेका ट्याटु वा अन्य निशानाको रेकर्ड राखिसकिएको छ ।

डिएनए जाँचका लागि नमुना संकलनसमेत भइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार सकेसम्म व्यक्तिको राम्रोसँग पहिचान गरी आफन्तलाई शव बुझाउने प्रयास जारी राखिनेछ ।

पोखरामा सनाखत हुनेमा दोसान इनरविलिटी अपर त्रिशूली १ मा कार्यरत सिनियर डिजाइन इन्जिनियर सत्यसुन्दर प्रजापति, रसुवा अध्यागमन अधिकृत ३७ वर्षीय यादव भण्डारी, इलाम सन्दकपुर गाउँपालिकाका ३८ वर्षका दिवानन्द सुवेदी, अर्घाखाँची पाणिनी गाउँपालिकाका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उदत खड्का लगायत छन् ।

शनिबार साँझसम्म ४६ वटा शवको पोस्टमार्टम भइसकेको छ । शनिबार साँझसम्म बाढीमा मृत्यु भएका ६ सय ६९ जनाको शव फेला परेको छ । रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका छन् । यस्तै, नुवाकोटमा ४१, चिवतनमा २४८, तनहुँमा ३१ र नवलपुर पश्चिममा ७५ शव फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->