तस्बिर सौजन्य : खोजीनिती
पोखरा/नेवारी समुदायको परम्परागत गाईजात्रा पर्व पोखरामा पनि मनाइएको छ । नेवारी समुदायका एक वर्षभित्र आफन्त बितेका परिवारबाट निकालिने गाईजात्राको रौनक शनिबार पोखरामा पनि देखिएको हो ।
विगतमा झैं यसवर्ष पनि पोखरामा बाक्लै मात्रामा गाईजात्रा निस्किएको नेवाःखल कास्कीले जनाएको छ । पोखराका प्रायः सबै गाउँ र टोलबाट गाईजात्रा निस्किएको नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले बताए । ‘यति नै संख्यामा गाईजात्रा निस्कियो भनेर त भन्न सकिन्न, उनले भने, ‘तर हरेक गाउँ÷टोलमा एक वा त्यो भन्दा बढी मान्छे बितेका घर भएकाले उनीहरुले गाईजात्रा निकाले ।’
गाईजात्राको अवसरमा शनिबार कम्तीमा पनि ४० स्थानबाट तायामचाः समेत निकालिएको छ । नेवा खलः कास्कीको आह्वानमा ४० शाखा (कचाः) खलःहरुले तायाः मचा निकालेका हुन् । शनिबार पुरानो पोखरामा ३० स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको घाचोकमा १/१ स्थान गरेर कुल ४० स्थानबाट तायाःमचा निस्किएको अध्यक्ष पालिखेले जानकारी दिए ।
पोखरामा शनिबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिए ।
त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायाःमचा निस्केको उनले बताए । लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउराली लगायतका स्थानबाट तायाः मचा निकालिएको जनाइएको छ । तायाः मचा ४० ठाउँबाट भएपनि गाईजात्रा भने एक सयभन्दा बढी ठाउँबाट निस्किएका छन् । एउटा टोलबाट धेरै गाई निस्किए पनि तायाःमचा एउटै हुने भएकाले गाईको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाइ छ ।
उनले भने, ‘एउटा टोलबाट एउटा तायाःमचा निकालिन्छ । तर एउटा टोलमा २–३ जनादेखि ५–६ जनासम्म पनि मान्छेको मृत्यु भएकाले सो अनुसार प्रत्येक घरबाट गाई निस्किदा सयभन्दा बढी निस्किएका छन् ।’
गाईजात्राको अवसरमा पोखरामा शनिबार रामायण पनि निकालिएको छ । तायाः मचासँगै पोखरामा यसवर्ष रामायण पनि निकालिएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । सिद्धिविनायक गणेश मन्दिर संरक्षण समिति भैरव टोलका अध्यक्ष कृष्णदेव प्रधानाङ्गकी श्रीमती विजयालक्ष्मी प्रधानाङ्गको स्मृतिमा उनको परिवारले शनिबार गाईजात्राको अवसरमा रामायण परिक्रमा गराएको उनले बताए ।
गाईजात्राको अवसरमा नेवा खलः कास्कीको आह्वानमा तायाः मचा नृत्य प्रतियोगिता भदौ २० गते शनिबार आयोजना हुँदै छ । लामाचौर कचाः खल गुठीको आयोजनामा पोखरा–१६, लामाचौर चोकमा प्रतियोगिता हुन लागेको हो । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको श्रृंखलामा ३८ टिम प्रतियोगिका रुपमा र २ वटा टिम अप्रतियोगिका रुपमा सहभागि हुने आयोजक लामाचौर कचाः खल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
यस वर्षको प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
यस वर्ष महिलातर्फका उपाधि विजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने छ ।





