आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

बागलुङमा तायाः मचा र बास्सा नाच प्रदर्शन

बागलुङमा तायाः मचा र बास्सा नाच प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८३, आइतबार

बागलुङ/गाईजात्राको पहिलो दिन बागलुङमा तायाः मचा नाच प्रदर्शन गरिएको छ । नेवार समुदायले आफ्ना दिवंगत आफन्तको सम्झनामा तायाः मचा प्रदर्शन गर्ने प्रचलन छ । यहाँ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा पर्व मनाउने गरिन्छ ।

गाइजात्रा पर्वको अवसरमा नेवार समुदायका सात जना दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बागलुङ बजारमा तायाः मचा प्रदर्शनसहित जात्रा निकालिएको नेपाल भाषा मंकाः खल बागलुङका अध्यक्ष जयराम भारीले जानकारी दिए ।

नारायणचोकस्थित लक्ष्मीनारायण मन्दिरबाट तायाः मचा र राधाकृष्ण मन्दिरबाट बास्सा नाच प्रदर्शन गरिएको थियो । नारायणचोकबाट सुरु भएको जात्रा मरेपिपलको परिक्रमा गर्दै पुनः नारायणचोकमै पुगेर तायामचाः नाच सम्पन्न भएको भारीले बताए ।

‘‘स्थानीय परम्परा अनुसार नेवार समुदायमा दिवंगत व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने कामनासहित तायाः मचालाई मरेपिपलसम्म प्रदर्शन गर्ने र त्यसपछि फर्काउने चलन छ’’ मंकाः खलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठले भने, ‘‘बागलुङमा गाईजात्रामा निकालिने तायाः मचाको स्वरूपमा खासै परिवर्तन भएको छैन ।’’

श्रेष्ठका अनुसार, गाइजात्रामा दिवंगतको सम्झना, पुरानो सांस्कृतिक परम्पराको संरक्षण, परम्परागत बाजागाजा, नाचगान तथा सामूहिक सहभागिता हुने भएकाले यसले नेवार समुदायको संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि त्यहाँबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।

नेवार समुदायमा कसैको मृत्यु भएपछि मृतकलाई दाहसंस्कारका लागि मरेपिपल हुँदै निर्णयघाटमा लैजाने हुँदा तायाः मचालाई मरेपिपलसम्म लगेर मृतकको आत्मालाई देखाएर फर्काएपछि मात्र आत्माले शान्ति पाउने जनविश्वास छ ।

नेपाल संवत् ५७५ मा राजा प्रताप मल्लले कान्छा छोरा राजकुमार चक्रवतिन्द्र मल्लको शितला रोगका कारण मृत्यु भएपछि भावविव्हल रानी राजमतीलाई शान्त राख्न जसको घरमा वर्षभर आफन्तको मृत्यु भएको छ, उसको नाममा झाँकीसहित गाईजात्रा निकाल्न उर्दी गरेअनुसार गाईजात्रा पर्व मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->