बागलुङ/नेपाली समाजमा १२ वर्षदेखि बेपत्ता, खबर नभएको र घर नफर्केको मानिसको काजक्रिया गर्ने चलन छ । तर बागलुङका एकजना घरबाट निस्केको २४ वर्षपछि मात्र भेटिएका छन् । उनलाई मलेसियाबाट उद्दार गरेर ल्याइएको छ ।
वर्षौ सम्पर्कविहिन उनलाई असक्त र आँखाको ज्योती समेत गुमेको अवस्थामा भेटिएको हो । सन् २००२ मा उनी दलालमार्फत मलेसिया हिंडेका थिए । त्यहाँ पुगेलगत्तै उनी सम्पर्कविहिन भएका थिए । जे कामका लागि गएका थिए, त्यो काम पाएनन्, त्यसपछि अन्य कामको खोजीमा भौंतारिंदा उनी परिवारको सम्पर्कबाट टाढा पुगे ।
गलकोट नगरपालिका–११ रिघाका ५७ वर्षिय होमबहादुर घर्ती गैरकानूनी रुपमै मलेसियामा २४ वर्षसम्म हराए । उनी किन हराए, के भयो भन्ने अहिलेसम्म खुलेको छैन । परिवारले नै सम्पर्क गर्न नसकेपछि उनको खोजीखर नै भएन । विदेश जाँदा लिएको ऋणले परिवारमा समस्या थपियो । पत्नि कल्पनाले मेलापात गरेर छोराछोरी हुर्काइन्, पढाइन् । वर्षौसम्म पतिको खबर नआएपछि उनैले मजदुरी गरेर ऋण तिरिन् । तरपनि होमबहादुर फर्कने संभावना देखिएन । गाउँमा अनेक लान्छाना र आरोप सहेर उनी पतिको बाटो हेरेरै बसिन् ।
छिमेकीले त आस मारिसकेका थिए । कल्पनाले भने भेटिन्छन् की भन्ने आसा राखेको बताइन् । तर फर्कलान् भन्ने नसोचेको उनको भनाइ छ । २४ वर्षपछि मलेसियाको ग्रामीण क्षेत्रमा दयनीय जीवन बिताईरहेका होमबहादुरको तस्बिर सामाजिक संजालमा सार्वजनिक भयो । उक्त तस्बिर आफ्नो मानिसको भएको परिवारले पत्ता लगाएपछि उनले गलकोट नगरपालिकामा खबर गरिन् । नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता रजना उपाध्यायले जिल्ला प्रशासन र त्यहाँ रहेको आप्रवासी श्रोत केन्द्रमा खबर गरिन् । क्रमशः यो खबर कन्सुलर सेवा विभाग, प्रवासी नेपाली समन्वय समिति, मलेसियास्थित नेपाली दुतावास र त्यहाँका नेपाली समाजलाई खबर गरेपछि होमबहादुरको उद्दार संभव भयो ।
सबैको सहयोगमा होमबहादुरलाई गत फागुन १५ गते नेपाल फर्काइयो । उनी असक्त थिए, परिवारले उपचार गराएर घर फर्काएका छन् । अझैपनि उनी स्वस्थ भैसकेका छैनन् । उनका आँखाको ज्योती गुमिसेको छ । उनी विदेशिंदा छोराहरु साना थिए । पत्नि कल्पनाले दुःख गरेर विदेश जाँदाको ऋण तिरिन् । छोराछोरी हुर्काएर विवाह पनि गराइसकिन् । ‘श्रीमान त घर आए, मरे बाँचेको मतलब नभएको अवस्थामा छन्’ कल्पनाले भनिन्, ‘अब पहिलो झैं त बन्ने भएनन्, आँखा नदेख्ने भएकोले मैले नै स्याहार गरिरहेकी छु ।’
गैरकानूनी रुपमा बसेकोले होम बहादुरको बीमा, काम गरेको रकम लगायत खोजी गर्न सकिएको छैन । त्यसैले उनी अहिले शुन्य बनेका छन् । आफ्नै स्वास्थ्य समेत जटिल बनेर फर्केका छन् । गैरकानूनी रुपमा विदेशमा बस्दा र सूचनाबाट टाढा भएपछि यो हविगत भएको हो । के कारणले उनी अहिलेसम्म हराए भन्ने खुलेको छैन । आँफै असक्त भएकोले त्यो खुल्न नसकेको परामशकर्ता उपाध्याय बताउँछिन् ।
नेपाल आइपुग्दा उनको आँखाको ज्योती गुमेको छ । शारिरीक रुपमा पनि अति कमजोर र आफ्नै सरसफाइको काम गर्न नसक्ने अवस्था भएपछि वास्तविकता खुल्न नसकेको हो । परिवारले साथ दिंदा अहिले उनी घरमा आराम गरेर बसेका छन् ।
गैरकानूनी काममा बसेकोले ती पीडितहरुले के काम गरे, कति कमाए वा कमाएन् भन्ने यकिन नभएको आप्रवासी श्रोत केन्द्र बागलुङकी परामर्शकर्ता गंगा रिजालले बताइन् । ‘कागजात नभएकोले पीडितलाई राहत, क्षतिपूर्ति र बीमा समेत दिलाउन सकिएन’ उनले भनिन्, ‘आफ्नो कागजात घरमा छाड्ने र श्रम स्विकृति लिएर मात्र काम गर्न सबैलाई सुझाव दिएका छौं ।’ सामान्य त्रुटीले आफ्नो जीवन जोखिम र परिवारको बिचल्ली भएका धेरै उदाहरणबाट पाठ सिक्न उनले आग्रह गरिन् ।





