बागलुङ/प्रहरीले अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठेखोला गाउँपालिका वडा नं. ३ बिहुँबाट तीन जनालाई पक्राउ गरेको छ ।
ना ५ ख २३७६ नम्बरको ट्रकमा काठ लुकाएर लैजाँदै गर्दा चितवनको राप्ती नगरपालिका वडा नं. ११ का २६ वर्षिय बुद्धीलाल प्रजा, कोठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका २७ वर्षिय खिमानन्द कँडेल र ट्रक चालक निसीखोला गाउँपालिका वडा नं. ६ का ३३ वर्षिय श्याम बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
बिहुँबाट अवैध रुपमा काठ ओसारपसार भइरहेको सूचना आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र काठ डिभिजिन वन कार्यालयले नापजाँच र अनुसन्धान गरिरहेको त्वातीले बताए ।
‘‘चिलाउनी, उत्तिस लगायतका काठ ट्रकमा लोड गरिएको छ । कुनै पनि काठमा टाँचासमेत लगाइएको छैन’’ त्वातीले भने, “बिहुँबाट पहिलेदेखि नै काठ बाहिर पठाउने काम हुँदै आएको रहेछ, यस पटक उनीहरुलाई पक्राउ गरेका हौँ ।’’
प्रहरीले अवैध काठ ओसारपसारको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बागलुङबाट १० दिनको म्याद थप गरेको छ । अनुसन्धान सकिएपछि आवश्यक कानूनी प्रक्रियाका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाईने त्वातीले जानकारी दिए ।





