बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

न्याय खोज्दै सास जाने भो…

न्याय खोज्दै सास जाने भो…

सकभर भेट्टाउन पाए हुन्थ्यो । राज्यले हामीलाई शान्तसँग अहिल्यैसम्म सुत्न दिएको छैन ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

पोखरा/‘मुटुमाथि ढुंगा राखी हास्नु प¥या छ….’
गायक नारायण गोपालको यो गीतले विवशतामा मान्छेको मनोदशा चित्रण गर्छ । गीतमा भने झैं मनभरी पीडा बोकेर माया गिरी अहिले पनि श्रीमानको खोजीमा भौतारिइरहेकी छन् । सिउँदोमा सिन्दूर, निधारमा रातो टीका लगाएर अझै पनि उनी सास वा लाशको खोजीमा छिन् । २०६० माघमा श्रीमान बेपत्ता भएपछि २ सन्तान उनी एक्लैले दुःखजिलो गरी हुर्काइन् ।

माया भन्छिन्, ‘दुःख त कति भयो, त्यो देखिँदैन र भनेर पनि साध्य भएन । सकभर भेट्टाउन पाए हुन्थ्यो । राज्यले हामीलाई शान्तसँग अहिल्यैसम्म सुत्न दिएको छैन ।’ अहिले आफू बिरामी परेको, सँगसँगै आर्थिक संकटले पनि झेलेको उनले सुनाइन् । पोखराका शालिग्राम पौडेल पनि बेपत्ता परिवारकै सदस्य हुन् । उनका माइला छोरालाई पक्राउ गरी बेपत्ता बनाइएको पनि २५ वर्ष भयो । अहिलेसम्म केही पत्तो छैन ।

उनीहरु जस्तै बेपत्ता आफन्तको खोजीमा रहेका नेपालमा २ हजार ५ सयबन्दा बढी परिवार छन् । शालिकराम भन्छन्, ‘२५ वर्षसम्म केही भएन, उल्टै हाम्रो भएको पनि सिद्धियो । आज नातिहरु हुर्काउँदै छु, छोरा भएको भए त उसैले पाल्थ्यो नि ।’

हिजो हतियार उठाउनेहरु सत्तामा पुगे । सत्ता बदलिइरह्यो तर बेपत्ताको पीडा कम भएन । ‘जेन जी’को आन्दोलनपश्चात बनेको नयाँ सरकारप्रति भने उनीहरु आशावादी छन् । जनताले झण्डै दुइ तिहाई मत दिएर बनाएको सरकारले न्याय नदिए आफूहरुले कहिल्यै न्याय पाउन नसक्ने उनीहरु सुनाउँछन् । ‘अहिलेको सरकारले पनि वास्ता नगरे हामी न्यायका लागि धाउनु पर्दैन । आफ्नै सुरले काजकिरिया गर्दिए भयो,’ शालिग्रामले थपे, ‘न्याय माग्दा माग्दै अब त हाम्रै सास जाने समय आउन लाग्यो ।’ २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि बलपूर्वक बेपत्ता पारिएकाहरु कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने अत्तोपत्तो छैन ।

बेपत्ता परिवार पीडा बोकेर आफन्त आउने आशामा बाँचिरहेका छन् । सम्झौतामा ५० दिनभित्रै बेपत्ताको अवस्था सार्वजनिक गरिने प्रतिबद्धता गरिएको थियो । नेपालमा २०५२ देखि २०६३ सम्म सशस्त्र द्वन्द्व चलेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा १० वर्षको द्वन्द्वमा २ हजार ५ सय ६ जना बेपत्ता भएको तथ्यांक छ । गण्डकी प्रदेशमा मात्रै १ सय २ जना बेपत्ता पारिएका थिए । तीमध्ये ८५ पुरुष र १७ महिला छन् ।

राष्ट्रिय रूपमा बेपत्ता पारिएकामध्ये ८८ प्रतिशतभन्दा बढी राज्यपक्षबाट र बाँकी गैर राज्यपक्षबाट पीडित भएको तथ्यांक छ । बेपत्ता परिवारका सदस्यहरू आफन्तको अवस्था थाहा नपाई आर्थिक, सामाजिक र मनोवैज्ञानिक कष्टका बीच बाँचिरहेका छन् । पीडित सूचीमा नपरेका कैयौं परिवार भने न्याय र अन्तरिम राहत दुवैबाट वञ्चित छन् ।

नवलपरासी, कास्की लगायतका जिल्लामा धेरै पीडित अझै आधिकारिक सूचीमै नपरेकाले न्याय र अन्तरिम राहतबाट वञ्चित रहेको एडभोकेसी फोरमकी कुञ्जनी परियार ‘प्यासी’ बताउँछिन् । सरकारले तथ्यांकसमेत अद्यावधिक नगरेको अवस्थामा वास्तविक पीडित संख्या यकिन गर्न कठिन रहेको उनको भनाइ छ ।

श्रीमान बेपत्ता भएका परिवारका विभिन्न लाञ्छना खप्न बाध्य भएको र छोराछोरीहरू पनि राम्रोसँग पढ्न नसकेको उनको भनाइ छ । ‘यतिमात्रै होइन, सामाजिक र मानसिक समस्याबाट समेत ग्रसित भइरहेको अवस्था छ,’ उनले भनिन्, ‘विशेष गरेर उहाँहरुले (पीडित) न्याय चाहनुहुन्छ र सत्य चाहनुहुन्छ । परिवारका सदस्यलाई के भयो भन्ने जान्न चाहनुभएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->