पोखरा/२०८२ भदौ २४ को आगजनी, विध्वंस र रिक्तताबाट उठ्न नभ्याउँदै नेपाल फेरि अर्काे विपद्बाट आक्रान्त भएको छ । यसपालिको भदौ १० गते आएको आकस्मिक बाढीले धनजन र पूर्वाधारको अकल्पनीय क्षति गरेको छ ।
महाविपद्को एक साता हुँदा बाढीको त्रास कायमै छ । आइतबार रातिसम्म ९ सय ३९ जनाको शव फेला परेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ हजार ९ सय २५ जना सम्पर्कविहीन रहेको जनाएको छ । कतिपय बस्ती नै शून्य भएकाले बेपत्ताको संख्या बढ्न सक्ने आकलन छ ।
शव भेटिने क्रमसँगै पहिचान नभएका शवहरु गाड्ने क्रम पनि सुरु भएको छ । एकै पटिक ठूलो संख्यामा शव भेटिँदा राख्ने ठाउँको अभाव भएको छ । शवगृह अभावमा बरफकै भरमा शवहरु राख्नुपर्ने वाध्यता आएको छ । उद्धार टोली अझै त्रिशूलीका केही हाइड्रोको सुरुङभित्र पुग्न सकेको छैन । सुरुङभित्र रहेकाहरु जीवितै भेटिने आशा भने बाँकी नै छ ।
बाढीले लामो दूरी बगाएर ल्याएका र जमिनमुनिबाट निकालिएका शवको पहिचान गर्न पनि निकै कठिन भएको छ । एकातिर धेरै शव पहिचान नहुँदा राख्ने ठाउँ नहुने, अर्कातिर शवहरु सड्न सुरु गरेपछि वैकल्पिक बाटो अपनाउँदै शवहरु गाड्न सुरु गरिएको छ ।
सोमबारसम्म सबैभन्दा बढी चितवनमा २ सय ७९ शव फेला परेका छन् । पूर्वी नवलपरासीमा २ सय १६, पश्चिम नवलपरासीमा १ सय ६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।
यस्तै, प्राधिकरणले हालसम्म २ सय ७९ जना घाइते रहेको जनाएको छ । जसमध्ये १ सय ६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।नेपाली सेनाले २ हजार ७ सय जनाको उपचार गरेको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखाले ६० करोड प्रत्यक्ष क्षति व्यहोरेका छन् । नेपाल बैंकर्स संघले बाढी प्रभावित क्षेत्रमा विभिन्न १२ बैंकका १६ वटा शाखा रहेको जनाएको छ । १५ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा क्षतिग्रस्त छ ।
बैंकका ती शाखामा ९ एटिएममा १ करोड १६ लाख ६३ हजार नगद, क्यास भल्टमा १७ करोड २४ लाख र नगद काउन्टरमा एक करोड १७ लाख नगद रहेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । ‘बैंकका शाखा कार्यालयको भौतिक नोक्सानी नगदबाहेक ६० करोड बराबर भएको देखिन्छ,’ शर्माले भने ।
बाढी प्रभावित क्षेत्रमा भारी वर्षा हुन सक्ने
बाढीबाट प्रभावित क्षेत्र लगायतका स्थानमा अबको केही दिन वर्षा हुने सम्भावना रहेकाले सतर्क रहेर उद्धारमा खटिन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ । बाढीले अस्तव्यस्त बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रका पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहकाले विभागले सचेत गराएको हो ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार ती क्षेत्रसँगै लाङटाङ, सिन्धुपाल्चोक, गोरखाका माथिल्लो हिमाली भेगका केही स्थानमा पनि वर्षाको सम्भावना देखिएको छ । ‘बाढी आएकै स्थानहरुमा आकस्मिक बहाव ल्याउन सक्छ, तल्लो तटीय क्षेत्रका बासिन्दा र उद्धारकर्मीले मौसमी पूर्वसूचनालाई निरन्तर पछ्याउनुपर्ने देखिएको छ,’ दाहालले भने ।
विभागकोे मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।१० देखि ५० मिलिभिटरभित्रको वर्षालाई मध्यम वर्षाका रुपमा गणना गरिन्छ । ५० मिलिमिटरमाथिको वर्षालाई भारी वर्षाको रुपमा गणना गरिन्छ ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय लगायत प्रकोपको जोखिम र क्षतिबाट बच्न र ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना औँल्याइएको छ ।
उद्धार कोषमा साढे ६ अर्ब
बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत दिएको जानकारी अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा भएको हो ।
प्रधानमन्त्री राहत कोषका ९वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८ सय ४२ रुपैयाँ जम्मा भएको छ । हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । जुन नेपाल राष्ट्रबैंकको सोमबारको विनिमय दर अनुसार करिब ४८ करोड ६३ लाख ६२ हजार ८० नेपाली रुपैयाँ हुन आउँछ ।
दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ ।
कास्कीमा आजबाट शव गाडिने
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर सोमबार साँझसम्म १ सय ५३ जना सम्पर्कविहीन भएको अभिलेख छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले नवलपरासीमा ९३, गोरखामा २९ र तनहुँमा १५ वटा पहिचान हुन नसकेका शव व्यवस्थापन गरिएको जानकारी दिए ।
कास्कीमा सोमबार साँझसम्म बेपत्ता भएकाको संख्या ५८ पुगेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आफन्तहरूले सम्पर्कविहीन भएकाको नाम टिपाउने क्रम जारी रहेको जनाए । कास्की ल्याइएका १ सय २ शवमध्ये १६ वटाको मात्र पहिचान भएको छ ।
‘सोमबारसम्म १६ वटा शवमात्र पहिचानपछि आफन्तलाई बुझाउन सकियो,’ बरालले भने,‘बाँकी शवहरु मङ्गलबार वैकल्पिक रुपमा व्यवस्थापन गर्ने तयारी छ ।’कास्की ल्याइएका सबै शवको पोस्टमार्टम गरी पहिचान नभएका शवमा ट्याग राख्ने लगायतका तयारी सकिएका छन् । पहिचान नभएका शव पोखरा महानगरको उपयुक्त स्थानमा गाड्ने तयारी भएको छ ।
बेपत्ता वा मृत्यु भएकाको परिवारलाई १/१ लाख
गण्डकी प्रदेश सरकारले बाढीमा बेपत्ता वा मृत्यु भएका गण्डकीका बासिन्दाका परिवारलाई एक÷एक लाख दिने छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
गण्डकी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले महाविपद पीडित परिवारलाई सहयोग गर्न विभिन्न निर्णय भएको जानकारी दिए । गण्डकी सरकारले यसअघि नै भोटेकोशी बाढीका पीडितलाई सघाउन प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ ।
‘गण्डकी प्रदेशका बासिन्दामध्ये मृत्यु भएका वा बेपत्ता भएकाको परिवारलाई एक÷एक लाखका दरले राहत दिने निर्णय भएको छ,’ उनी भन्छन्,‘सडकबाट पोखरा आउने बाटो अवरुद्ध छ, हवाई मार्गबाट पोखरा आएका बाढीबाट घाइते भएकाहरू र बिरामीलाई घरसम्म पु¥याउने व्यवस्था पनि गर्ने छौँ ।’
बाढीमा परी घाइते भएका प्रदेशबासीलाई पनि जनही ५० हजार उपचार खर्च प्रदान गर्ने सरकारको निर्णय छ । मन्त्री शेरचनले महाविपद्मा सबैबाट उचित साथ मिल्ने अपेक्षासमेत गरे । उनले भने, ‘हामी यथाशक्य सघाउन तयार छौँ, यो घडीमा प्रदेशका सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता, नागरिकबाट सहयोगको अपेक्षा गरेका छौँ ।’





