बागलुङ/जैमिनी–१, कुश्मीशेराकी दीर्पादेवी शर्माको घरमा एक्कासि एक समूह आइपुग्यो । वडाध्यक्ष विष्णु आचार्यको नेतृत्वमा आएको समू देखेर शर्मा परिवार छक्क प¥यो । शनिबार परिवारका सदस्यहरू खेतबारी र घरगोठको काम र पेशा तथा जागिरबारे गफिँदै थिए ।
आउनुको सामान्य जानकारी दिएपछि वडा सचिव सुरेश वलीले ल्यापटप निकाले । दीर्पादेवी एकल महिला भएकाले सामाजिक सुरक्षा भत्ता पाउँछिन् । सचिव वलीले उनको परिचय पत्र मागे; आँगनमै नवीकरण गरिदिए ।
प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराका प्रमुख चिकित्सक डा सुजन शर्मा उनको स्वास्थ्य अवस्था बुझ्न लागे । स्वास्थ्यकर्मी शान्ति शर्माले उनको रक्तचाप जाँचिन् । जाँच सकिएपछि आवश्यक सल्लाह दिइयो ।
कृषि प्राविधिक मनोज राना तराकारीको बिउँका पोका फुकाउन थाले । छेवैमा रहेका दीर्पाका छोरा गुरुप्रसादलाई बिउँ थमाए । तरकारी लगाउने तरिका, रोगकीरा संक्रमण र आवश्यक घरायासी उपचार तरिका सिकाए । वडा कार्यालयले सञ्चालन गरेको घरदैलोमै एकीकृत सेवा शिविर लिएर उनीहरु त्यहाँ पुगेका थिए ।
आँगनमै पुगेको वडाको समूहबाट सबै सेवा एकै पटक पाउँदा शर्मा परिवार खुसी भयो । टोली वडामा सामाजिक सुरक्षा लिने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, दीर्घरोगीका घरमा यसैगरी पुगेको थियो । ‘अरु बेला लौरो टेकेर वडामै पुग्नु पर्दथ्यो; म त बरु हिंड्न सक्थेँ, हिँड्न कठिन बुढाबुढीका लागि त यो स्वर्ग भयो,’ दीर्पाले भनिन्, ‘घरबाटै नवीकरण हुँदा धेरै सजिलो भयो ।’
वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, नियमित औषधी सेवन गर्ने बिरामीलाई औषधि वितरण, तरकारी तथा फलफूलको बिउ बितरण तथा पशुसेवाबारे सल्लाह लगायतका वडाले सेवा घरदैलोमै पु¥याएको हो । एकीकृत सेवा शिविरमार्फत् ३ दिन लगाएर वडाका १ सय ५० घरघुरीमा पुगेको वडाध्यक्ष विष्णु आचार्यले जनाए ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि जैमिनी नगरपालिकाका सबै वडामा वडा सचिवहरू घरघरै पुगेका थिए । कुश्मीशेराले भने सबै सेवा घर घरमा पु¥याएको हो । ‘नागरिकको सेवा हाम्रो कर्तव्य हो; जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको साझा सक्रियताले यो सम्भव भयो,’ उनले भने ।





