बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि ५ लाखभन्दा बढी सहयोग गर्ने भएको छ ।
गुठीको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएपछि सोमबार बसेको पहिलो बैठकले बाढी पीडितका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ प्रधानमन्त्री दैवि प्रकोष उद्वार कोषमा जम्मा गर्ने निर्णय गरेको हो लेखापाल दुर्गा क्षेत्रीले जानकारी दिए ।
प्राकृतिक विपत्तिले देशमा संकट निम्त्याएको बेला बाढी पीडितको उद्वार र राहतमा राज्यलाई साथ दिने उदेश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषलाई सहयोग गर्ने निर्णय भएको गुठीका नवनियुक्त अध्यक्ष रामबहादुर खड्का रमेशले बताए ।
सोमबारै अध्यक्ष खड्काले कार्यभार समेत सम्हालेका छन् । नयाँ समितिको पदस्थापनसंगै कार्यभार सम्हालेका खड्काले ढोरपाटनलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालीका भगवती मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रचनात्मक कार्यको थालनी गर्ने बताए ।
विश्वका धार्मिक पर्यटकको आर्कषण केन्द्रका रूपमा कालिका मन्दिरलाई चिनाउन पहल गरिने उनको भनाई थियो । धार्मिक महत्व बोकेको पवित्र कालिगण्डकी नदीसँग सामिप्यता रहेको मन्दिरको महत्वलाई प्रचारप्रसारमार्फत सबै सामु पु¥याउने खड्काले बताए ।
गुठी संस्थानले अध्यक्षमा रमेशसहित सचिवमा निशान खड्का, कोषाध्यक्षमा सचिन खड्का र सदस्यहरुमा विद्या खड्का र मनकुमारी खड्कालाई नियुक्त गरेको छ ।
कालीका भगवती मन्दिरमा नयाँ वर्ष, बडादशै र चैत्राष्टमीमा भक्तजनको भीड लाग्ने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाका लागि देशभरबाट भक्तजन कालिका मन्दिरमा आउने गर्छन् । पछल्लो समय छिमेकी भारतबाट समेत भक्तजन मन्दिर आउने गर्छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि बागलुङ कालीका भगवतीको मन्दिर स्थापना गरेर मेला तथा पूजा सुरु भएको पाइन्छ ।





