बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पहिरोले निसीको चिनारे बस्ती जोखिममा

पहिरोले निसीको चिनारे बस्ती जोखिममा


  • ढाेरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ४ मा अवस्थित चिनारे बस्ती पहिरोको जोखिममा परेको छ । आइतबार बिहान गाउँभन्दा तलबाट ठूलो पहिरो खस्दा चिनारे बस्तीका १० घर उच्च जोखिममा परेका हुन् ।

चिनारेका भूमिराज कँडेल, भानिश्वर कँडेल, शशिधर कँडेल, लाली कँडेल, तुलसीराम कँडेल, लिला बहादुर कँडेल, रमिलाल कँडेल, पूर्णलाल कँडेल, ज्ञानबहादुर कँडेल र पुनलाल भुसालको घर पहिरोको उच्च जोखिममा परेका हुन् । ‘‘पहिरोले घरको आँगनसम्म चर्किएको छ, वरपरको जमिन छियाँछिया बनेपछि घरमा बस्ने अवस्था छैन’’ भूमिराजले भने ।

बस्ती तल खसेको पहिरोले स्थानीयबासीको घर र जमिन चर्किदा सिंगो बस्ती नै बगाउने जोखिम बढाएको गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तिले जानकारी दिए । गाउँभन्दा तलको सडक व्यवस्थित नहुँदा पहिरोको जोखिम बढेको घर्ति बताउँछन् । ‘‘सडक निर्माणको क्रममा पानीको उचित निकास तथा आवश्यक संरक्षणको काम भएको देखिदैन, वर्षात्को पानीका कारण जमिन कमजोर बनेर पहिरो खसेको हो’’ घर्तिले भने ।

पहिरोले बस्ती नै जोखिममा परेपछि उपाध्यक्ष घर्तीसहित झिँवाखोला प्रहरीको टोलीले प्रभावित क्षेत्रको अनुगमन समेत गरेको छ । घरहरू पहिरोको जोखिममा रहेकोले तत्काल सुरक्षित स्थानमा रहन गाउँपालिकाले आग्रह गरेको छ ।

निरन्तर वर्षा भएमा पहिरोले ठूलो क्षति निम्त्याउने संभावना रहेकोले जोखिम न्युनिकरणको लागि चिनारे बस्तीबासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको घर्तिले बताए । पहिरो ठूलो रहेकोले तत्काल रोकथामको काम सम्भव नभएको उपाध्यक्ष घर्तिको भनाई छ ।

पहिरो प्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आवश्यक राहत व्यवस्थापनका लागि तयारी भइरहेको उपाध्यक्ष घर्तिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->