पोखरा/ वि.सं. २०४२-०४३ तिर अहिले पोखराको मुटु मानिने चिप्लेढुंगा बजार यस्तो गुल्जार थिएन । दिउँसै स्याल डुल्ने, फाट्टफुट्ट घर भएको चिप्लेढुंगाले बजारकै उपमा गुथ्न पनि बाँकी थियो ।
चालिसको दशकदेखि आजसम्म निरन्तर चिप्लेढुंगामै उभिएको र यसलाई केन्द्र बनाउन योगदान गरेको एउटा व्यवसाय होः एलिगेन्स ट्रेड सेन्टर । सुनचाँदी व्यवसायको पुस्तैनी पृष्ठभूमिभन्दा बाहिर यो फ्लोरिङ तथा फर्निसिङ व्यवसाय थाल्ने व्यवसायी हुन् उत्तममान बुद्धाचार्य ।
विस्तारै पोखरामा होटल व्यवसाय फस्टाउँदै गयो, त्यहाँ सोफा, कुर्ची लगायतका सामानको आवश्यकता बढ्दै गयो । विभिन्न अफिससहित घरायसी प्रयोजनका लागि समेत फर्निचर चाहियो । उत्तमले फर्निचरसँगै आधुनिकता पछ्याउँदै गरेको पोखराका लागि पर्दा, कार्पेट, डोरम्याट लगायतका सामग्री भारतदेखि मगाएर बेच्न थाले ।
पोखरा आधुनिक बन्दै गयो, आवश्यकता थपिँदै गए । उनी भन्छन, ‘त्यो बेला मैले इलेक्ट्रिक सामानहरु फ्रिज, पंखा, कटलरी सामानहरु समेत थप गरेर व्यापार गर्न थालेँ ।’ उत्तम व्यापार, व्यवसायमा मात्रै होइन; ऊ बेलैबाट सामाजिक कार्यमा समेत सहभागी हुन्थे । उनी किशोर वयमै मोहोरिया टोलमा रहेको ‘मोहोरियाटोल चिल्ड्रेन क्लब’मा आवद्ध भए । पछि टोलमा ‘संगम युथ ग्रुप’ स्थापना भएपछि त्यसमा पनि सक्रिय रहे । आध्यात्मिक स्वभावका उत्तमले बुद्ध दर्शन अध्ययन गरेका छन् । ‘बुद्ध धर्म संघ’ स्थापना गरेका उत्तम अहिले पनि सो संस्थामार्फत गतिविधि गरिरहेका छन् ।
संगीतमा झुकाव राख्ने उत्तमको नाम पोखराको ‘संगीत प्रशिक्षण केन्द्र’को संस्थापकमा समेत जोडिन्छ । यतिमात्रै होइन; उनले लायन्स क्लब, रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, पोखराको अनदु डाँडामा रहेको विश्व शान्ति स्तूप लगायतका संस्थाको समितिमा रहेर काम गरिसकेका छन् ।
उत्तमको व्यावसायिक र सामाजिक सक्रियता देखेर उद्योग वाणिज्य संघमा जोडिन उनलाई साथीभाइ र परिवारले घच्घच्याउन थाले । छोराहरूले व्यवसायमा हातेमालो गर्न थालेपछि उत्तमले संघमा जोडिएर काम गर्ने मनसाय बनाए । २०७३ मा कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका उत्तम अत्यधिक मतसहित चुनिए ।
त्यसपतिको कार्यकाल वाणिज्य उपाध्यक्ष बनेका उनी हाल वरिष्ठ उपाध्यक्ष छन् । यति बेला संघलाई चुनावी रन्को छ । ३६ औं महाधिवेशनमा उत्तमले आफूलाई अध्यक्षको दाबेदारका रुपमा प्रस्तुत गरेका हुन् ।
उत्तमलाई लाग्छ, ‘व्यवसायिक हक हितका लागि पोखरा उद्योग वाणिज्य संघ सही स्थान हो र यसले व्यवसायीकै हितका लागि काम गर्छ ।’ संघमा आवद्ध नभएका व्यवसायीको समस्यामा पनि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।
उत्तम संघमा अध्यक्षका लागि आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभएको दावी गर्छन् । संघको वरिष्ठ उपाध्यक्ष भएकाले स्वतः अध्यक्षमा उम्मेदवारी रहने, बलियो व्यावसायिक उपस्थिति, लामो समयको व्यावसायिक अनुभव र सामाजिक छवि जितका आधार भएको उनको भनाइ छ ।
नर्वाचनअघि टिम बनाउनेतर्फ नलागी संघका सदस्यको विश्वास जितेर निर्वाचित भएर आउनेहरुलाई एकतावद्ध गर्दा संघको हित हुने उत्तमको ठम्याइ छ । संघलाई आधुनिक, पारदर्शी, प्रविधि एवं व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रुपमा अगाडि बढाउन आफू प्रतिबद्ध रहेको उनी सुनाउँछन् ।
‘व्यवसायीको आवाजलाई नीतिसँग, अवसरलाई उद्यमसँग र पोखराको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा काम गर्ने छु,’ उनी भन्छन् । उत्तम ट्राफिक व्यवस्थापन तथा सामान ढुवानीलाई समस्याका रुपमा लिन्छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यवसायी यो समस्याबाट गुज्रिइरहेको उनको अनुभव छ ।
‘यो विषयमा स्थानीय सरकारसंग हाम्रो छलफल भइरहेको छ; वैज्ञानिक र सुव्यवस्थित तरिकाले पार्किङको व्यवस्थापन गर्नु एकदमै जरुरी छ,’ उनी भन्छन् ‘व्यापारी र घरधनीबीच बहालसम्बन्धी समस्या देखिन्छ ।’
यो समयमा आउने सल्लाह, सुझावसहित आलोचनाको लागि समेत तयार छन् उनी । ‘नयाँ अवसर पहिचान गर्ने, व्यवसायीलाई प्रविधि र बजारसँग जोड्ने तथा नीतिगत तहमा प्रभावकारी भूमिका खेल्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ,’ उनले भने, ‘एआईको जमानामा पोखरामा रहेका व्यवसायीलाई प्रविधिमैत्री बनाउँदै उहाँहरुको हकहितका लागि लड्ने र समस्या आइपर्दा एकजुट भएर हिंड्ने मेरो योजना छ ।’





