सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

सिर्जनालाई हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार

सिर्जनालाई हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार


  • ढाेरपाटन संवाददाता
  • भाद्र २० २०८३, शनिबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सिर्जना पन्त पुरस्कृत भएकी छिन् ।

मानवअधिकार, सामाजिक न्याय, विधिको शासन र समानताको क्षेत्रमा निरन्तर समाचार लेख्ने, बहसपैरवी गर्ने र सामाजिक अभियान तथा मानवअधिकारकर्मीको रुपमा काम गरेको भन्दै उक्त पुरस्कार दिइएको हो । पुरस्कार राशी ५० हजार रहेको छ ।

आइसिजे एशिया प्रशान्त च्याप्टरकी निर्देशक तथा वरिष्ठ अधिवक्ता मन्दिरा शर्मा, अधिवक्ता राम शर्माले आमा हेमकुमारी र बुवा चन्द्रदत्त शर्माको स्मृतिमा महासंघमा २ लाख ५० हजारको कोष स्थापना गरेका छन् । कोषलाई परिवारले ५ लाख पु¥याउने बताएका छन् ।

दिवंगत भैसकेका हेमकुमारी र चन्द्रदत्तको पालामा छोराछोरीलाई शिक्षादिक्षा दिने, सामाजिक सेवामा लाग्ने, न्यायका लागि बोल्ने र अधिकारको क्षेत्रमा सक्रिय बनेर सेवा गरेको सम्झंदै परिवारका सदस्यले यो पुरस्कार राखेको शर्माले बताइन् । ‘हामी जन्मदा पनि उहाँहरुको सामाजिक सेवाको भाव उत्तिकै थियो, हामीले पनि महसुस गर्न पायौं’ शर्माले भनिन्, ‘उहाँको कदर गर्दै नयाँ पुस्तालाई सेवामा जोड्ने प्रेरणाका लागि कोष बनाएका हौं ।’ यो कोषले अझैपनि नियमित रुपमा समाज परिवर्तन, मानवअधिकार र सामाजिक न्याय तथा समानताको क्षेत्रमा काम गर्नेलाई पुरस्कृत गर्न पाइने उनले बताइन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समाजमा न्यायको क्षेत्रमा बोलिदिने, लेखिदिने नभए बेथितीको बाटोमा हिंड्ने भन्दै त्यसमा पत्रकारले खेलेको भूमिका उल्लेख्य रहेको बताए । उनले यो पुरस्कार प्रदान गर्न लाग्दा स्वर्गिय चन्द्रदत्तलाई सम्झेर उहाँको सामाजिक योगदान, न्यायको पक्षमा बोल्ने क्षमता बाहिर आएको बताए । पत्रकारले यस्ता बिषय उठाएर समाजलाई सही बाटोमा हिंड्न लगाएको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’को अध्यक्षता, सचिव नारायण रिजालको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गिता श्रीष, संस्थापकको तर्फबाट मन्दिरा शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

महासंघमा आधा दर्जन पुरस्कार कोषहरु रहेका छन् । ती कोषबाट पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै छनौट समितिमार्फत पत्रकारलाई पुरस्कार प्रदान गरिंदै आइएको छ ।

पुरस्कारले व्यक्ति पुरस्कृत गरेपनि यो महासंघको सिंगो सम्मान भएको भन्दै पन्तले आगामी दिनमा पनि मानवअधिकारको क्षेत्रमा कलम चलाउने साहस बढेको बताइन् । पन्त अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सयपत्री एफएम, धौलागिरि टेलिभिजन, नेपाल समाचार पत्र लगायतमा काम गर्दै हाल धौलागिरि जागरण दैनिकको सम्पादकमा कार्यरत छिन् । उनी महासंघ बागलुङको उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->