बागलुङ/आदर्श सञ्चार अनलाइनले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरेको छ । संस्थाले ७ औं वार्षिकोत्सव कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको बजेटमा सञ्चालक र कर्मचारीले थपेर १ लाख १ हजार बाढी प्रभावितलाई सहयोग गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गर्ने गरी बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई उक्त रकम हस्तान्तरण गरिएको हो आदर्श सञ्चार अनलाइनका सम्पादक खेमराज गौतम ‘सुवासले जानकारी दिए ।
संस्थाका सल्लाहकार डिलबहादुर कार्की, रुद्र महत र सुरेशप्रसाद श्रेष्ठ, सचिव सरस्वती खड्का परियार, सञ्चालक अम्बिका जिसी, प्रबन्धक दीपकराज सापकोटा र धौलागिरि जागरण दैनिकका सम्पादक सिर्जना पन्तले प्रजिर्अलाई रकम हस्तान्तरण गरेका हुन् ।
राहत रकम बुझ्दै प्रजिअ आचार्यले सञ्चार क्षेत्रबाट समेत विपद् पीडितको सहयोगमा योगदान हुनु सह्रानीय भएको बताए ।
आदर्श सञ्चार सहकारीद्वारा सञ्चालित अनलाइनले ७ वर्षको अवधिमा सार्वजनिक सरोकार, स्थानीय विकास, सामाजिक समस्या तथा नागरिकका आवाजलाई प्राथमिकताका साथ समाचारमार्फत प्रस्तुत गर्दै आएको सम्पादक गौतमले बताए ।
८ औं वर्ष प्रवेशसँगै विश्वसनीय तथा खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने, घटनाको कारण र समाधानका सम्भावनासमेत खोज्ने तथा गाउँ–गाउँका नागरिकका आवाजलाई थप महत्व दिने योजना रहेको प्रधानसम्पादक रामबहादुर जिसीले बताए ।





