काठमाडौं / मुक्तिनाथ विकास बैंकले सिन्धु विकास वैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यी तीन संस्थाबीच प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौता पत्र (एमओयु) मा सोमबार हस्ताक्षर भएको छ ।
वित्तीय क्षेत्रलाई सुदृढ बनाउन र संस्थागत क्षमता बढाउन यो प्रक्रिया अघि बढाइएको हो । व्यवसाय विस्तार गर्दै ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा दिने लक्ष्य बैंकले राखेको छ । प्रारम्भिक सम्झौतासँगै अब आवश्यक अध्ययन र मूल्यांकनको काम सुरु हुनेछ । संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण हुनेछ । यसैका आधारमा सेयर आदानप्रदान र अन्य आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
यो प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक र प्रचलित कानुन बमोजिम हुनेछ । नियामक निकायबाट आवश्यक स्वीकृति र प्रक्रिया पूरा भएपछि मात्र यसले अन्तिम रुप पाउनेछ । तबसम्मका लागि सबै कानुनी र नियामकीय प्रक्रियाहरु पूरा गरिने बैंकको भनाइ छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले प्रचलित कानुन अनुसार सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । ‘बैंक जनतामा जानुपर्दछ’ भन्ने नारालाई आत्मसाथ गर्दै संस्थाले आफ्नो सेवालाई थप विस्तार गर्ने लक्ष्य लिएको छ ।





