सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण

साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानले तनहुँको म्याग्दे गाउँपालिका–४, जफदीका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई ‘गण्डकी प्रज्ञा साहित्य सम्मान–२०८३’ अर्पण गरेको छ।

अधिकारीको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनको घरमै पुगेर प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरेको हो। सम्मानसँगै अधिकारीलाई नगद २५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ।

अधिकारीको सम्मानका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपाने, सदस्य–सचिव मनकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलगायत साहित्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले दोसल्ला, प्रतिष्ठानका कुलपति न्यौपानेले सम्मानपत्र तथा सदस्य–सचिव श्रेष्ठले नगद रकम हस्तान्तरण गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले जीवनभर निःस्वार्थ भावले समाज रूपान्तरणका लागि कलम चलाएका स्रष्टा अधिकारी स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको अवस्थामा प्रतिष्ठानले घरमै पुगेर सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताए। उनले यस्तो सम्मानले आफूहरूलाई पनि नयाँ सिकाइ र प्रेरणा दिएको उल्लेख गरे।

प्रतिष्ठानका कुलपति न्यौपानेले अधिकारी द्रुतगतिमा कलम चलाउन सक्ने सिर्जनशील क्षमता भएका स्रष्टा रहेको बताए। जीवनभर लोभ–लालचमा नफसी आफ्नो कर्मप्रति अडिग रहेकै कारण प्रतिष्ठान उहाँको आँगनसम्म आइपुगेको उनको भनाइ थियो।

‘तपाईंले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिनुभएको छ। तपाईंहरूजस्ता कर्मठ सृजनाकारकै साधना र योगदानले हामीलाई थप ऊर्जा र प्रेरणा मिलेको छ,’ कुलपति न्यौपानेले भने।

सम्मानित स्रष्टा अधिकारीका साहित्यिक सिर्जनाहरू साहित्यकार भवानी अधिकारी तथा व्यास प्रज्ञा–प्रतिष्ठानका सदस्य नारायणी अधिकारीले प्रस्तुत गरेका थिए।

सम्मान कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू प्राडा ईश्वरचन्द्र वाग्ले, बाबुराम बस्ताकोटी, टुकादेवी आचार्य, भूपेन बानियाँ, व्यास प्रज्ञा–प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, प्राज्ञहरू हरिसिंह गुरुङ, देवी बस्नेत, नारायणी अधिकारी तथा म्याग्दे साहित्य समाजका अध्यक्ष नारायण खनाललगायतको सहभागिता रहेको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सञ्चालन प्राज्ञ शान्ता बास्तोलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->