बागलुङ/प्रबुद्ध युवा समुह बागलुङको आयोजनामा प्राथमिक मनोवैज्ञानिक उपचार, आत्महत्या न्यूनीकरण तथा सामाजिक सञ्जालका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
समाजमा जुनसुकै समयमा जस्तोसुकै घटना तथा परिस्थिती सिर्जना हुनसक्ने भएकाले त्यस्ता घटनाले विकराल रूप लिन नदिन कार्यक्रम आयोजना गरिएको प्रबुद्ध युवा समुहका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।
कार्यक्रममा प्राथमिक मनोवैज्ञानिक उपचारसँगै पछिल्लो समय बढ्दै गएको आत्महत्याको जोखिम तथा सामाजिक सञ्जालको प्रभावबारे गरिएको थियो । सामाजिक सञ्जालको गलत प्रयोग तथा त्यसबाट उत्पन्न हुने मानसिक तनावका कारण विभिन्न समस्या सिर्जना भइरहेको भन्दै त्यसलाई न्यूनीकरणका उपायबारे सहभागीले सुझाव राखेका थिए ।
कार्यक्रमको सहजीकरण गर्दै खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्यले समाजमा रहेका विकृति तथा समस्यालाई जरैदेखि न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई सही दिशातर्फ लैजान यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पछिल्लो समय समाजमा मनोवैज्ञानिक उपचारसम्बन्धि कार्यक्रमको आवश्यकता अझ बढ्दै गएको बताए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने भएकाले ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सुझाव दिए ।
कार्यक्रममा कन्टेन्ट क्रिएटर सेलिजा क्षेत्रीले सामाजिक मर्यादा र जिम्मेवारीलाई ख्याल गर्दै कन्टेन्ट निर्माण गर्न सुझाव दिएकी छन् । उनले समाजमा नपच्ने, नकारात्मक प्रभाव पार्ने तथा विकृति फैलाउने खालका सामग्रीभन्दा समाजलाई सकारात्मक सन्देश दिने र सिर्जनात्मक कन्टेन्ट निर्माणमा जोड दिइन् ।
कार्यक्रममा संयुक्त चार युवा क्लबका अध्यक्ष साकार अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य मन्जुल शाक्य, पर्वत कुँवर, प्रदीप खड्काथोकी, अशोक केसी र सुवास शर्मा सापकोटालगायतले मन्तव्य राख्दै कार्यक्रमको प्रभावकारिता र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा सुझाव दिएका थिए ।
प्रबुद्ध युवा समुहका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रेजिना खत्रीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन समुहका सल्लाहकार दिलीप प्रतेलले गरेका थिए ।





