बागलुङ/नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाई बागलुङले रसुवाको भोटकोशी बाढीपीडितलाई सहयोग गरेको छ । बारका सदस्यबाट संकलित रकमबाट भोटेकोशी बाढी पीडितका लागि ६८ हजार ३ सय रुपैयाँ पठाइएको अध्यक्ष गिता श्रीषले बताइन् ।
रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेपछि अध्यक्ष श्रीषले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई भौचर बुझाएकी थिइन् । व्यक्तिगत रुपमा पनि बारका सदस्यहरुले सहयोग गरेका छन् भने संस्थागत रुपमा पनि सहयोग संकलन गरिएको हो ।
गत भदौ १० गतेको बाढी पहिरोले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएको छ । अहिलेसम्म क्षतिको यकिन तथ्यांक आइसकेको छैन । खोजी उद्दार कार्य भैरहेको बेला सरकारले जिन्सी राहत संकलनमा रोक लगाएको छ । नगद रकम पनि कोषमा मात्रै जम्मा गर्न सरकारले आग्रह गरेपछि सबै संस्था, समूह तथा व्यक्तिगत रुपमा पनि कोषमा नगदै जम्मा गर्ने क्रम चलेको छ । बारमा क्रियाशिल सदस्यहले पनि संस्थागत रुपमा उक्त रकम संकलन गरी कोषमा जम्मा गरेको श्रीषले बताइन् ।





