बागलुङ/रसुवाको भोटकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायतका क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएको छ । बाढी पछिको उद्वार, राहत र पुनस्र्थापनाको लागि बागलुङमा सहयोग जुट्ने क्रम जारी छ ।
सामाजिक कार्य गर्दै आएको बिहुँकोट अन्तराष्ट्रिय समाजले बाढी प्रभावितको उद्वार, राहत र व्यवस्थापनका लागि लागि ५ लाख रुपियाँ सहयोग गरेको छ । समाजले काठेखोला गाउँपालिकामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम पठाएको हो ।
समाजका उपाध्यक्ष महेन्द्र प्रसाद कँडेल, सह–कोषाध्यक्ष हरि सापकोटा र सदस्य कृष्ण प्रसाद कँडेललगायतको टोलीले मंगलबार गाउँपालिकाका अध्यक्ष, राजु थापा, उपाध्यक्ष तेजबहादुर थापालाई ५ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । काम विशेषले जो जहाँ रहेपनि नेपालीले विपद्मा एकता देखाउने गरेको भन्दै थापाले समाजको प्रशंसा गरे ।
भीमापोखराका स्थानीय, जनप्रतिनिधि तथा संघसंस्थाले १ लाख १ हजार रुपियाँ गरेका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको समन्वयमा सङ्कलित उक्त प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यस्तै गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गठित पात्लेखेत आमा समूह, गौदी मखमली आमा समूह र जनसेवा आमा समूहले बाढी पीडितलाई राहत पठाएका छन् । पात्लेखेले ३५ हजार ५ सय ५५, गौदी मखमलीले ३० हजार र जनसेवा आमा समूहले ५० हजार १ सय ५१ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम जम्मा गरेको हो ।
हरितालिका तीज पर्वमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्ने निर्णय गर्दै महिला समूहले बाढी प्रभावितको उद्वार, राहत र पुनस्थापनाको लागि आर्थिक सहयोग गरिएको जनसेवा आमा समूहका अध्यक्ष कमला खड्काले जानकारी दिइन् । यस्तै बडाचौर आमा समुह निसीखोलाले पनि बाढी पीडितलाई १० हजार ५ सय रुपियाँ सहयोग गरेको छ ।
गलकोटकै दर्शन समाजले पनि बाढी प्रभावितलाई नगद सहयोग गरेको छ । समाजमा आबद्व दाजुभाई तथा दिदीबहिनीबाट संकलन गरिएको ५० हजार रुपियाँ बाढी प्रभावितको उद्धार तथा राहतका लागि सहयोग गरिएको विष्णु बहादुर मल्लले बताए ।
यस्तै नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाई बागलुङले पनि भोटकोशी बाढी पीडितलाई सहयोग गरेको छ । बारका सदस्यबाट संकलित ६८ हजार ३ सय प्रधानमन्त्री दैवी प्रकोप उद्वारमा पठाइएको अध्यक्ष गिता श्रीषले जानकारी दिइन् ।





