बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ औं वार्षिक साधारण सभा एवं नवौं जिल्ला अधिवेशनको अवसरमा क्रियाशिल चार पत्रकार सम्मानित भएका छन् ।
गोरखापत्रका गलकोट समाचारदाता नवराज परियार, मेरो लगानी डटकमका संवाददाता हरिप्रसाद शर्मालाई तारादेवी चुर्णमान सिंह र गलकोट घुम्टेखबर अनलाइनका कार्यकारी सम्पादक सुरेश गर्वुजा छन्त्याल ‘दर्पण’ र एनटिएमा कार्यरत सुवास राज पन्तलाई नारायण मानकुमारी प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । चारै जना पत्रकारलाई नगद १०/१० हजार रुपैयासहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचनले पत्रकारलाई पुरस्कृत गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री शेरचनले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न आग्रह गरे । पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्न उनको सुझाव थियो ।





