
बागलुङ/प्रहरीले लागूऔषध गाजा र चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ । लागूऔषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले बुर्तिवाङ बजारबाट होटल संचालक महिलालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका वडा नं. २ लुलाङ स्थायी घर भई ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङ रिभरहेडस्थित मिना होटल एण्ड रेष्टुरेण्ट संचालन गर्दै आएकी मिना थापा भण्डारी भन्ने राम कुमारी थापालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकी थापाको रेष्टुरेण्टबाट प्रहरीले १ हजार ५ सय ग्राम गाजा र ३ सय ८० ग्राम चरेशसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । पक्राउ परेकी थापालाई थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थपिएको छ ।





