
पोखरा/भोटेकोशी बाढीको उत्पातले अनेक खालका पीडा सिर्जना गरेको छ । घटना भएको १७ दिन भइसक्दा पनि जलविद्युतका सुरुङ र पुरिएका घरहरूमा सकुशल मानिस भेटिने आशा बाँकी नै छ । साढे चार हजारभन्दा बढी मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन ।
करिब एक हजार चार सय शव फेला परेकोमा पाँच सयभन्दा बढी शव आंशिकमात्र छन् । कुल शवमध्ये एक सय तीनको मात्र पहिचान भएको छ । एक हजार एक सय ४८ शवको वैकल्पिक व्यवस्थापन भइसकेको छ ।
व्यवस्थापनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट ४१ वटा, धादिङबाट २७, गोरखाबाट ११ र तनहुँबाट २४ गरी एक सय दुई शव कास्की ल्याइएको थियो । धादिङबाट ल्याइएका चार, नवलपुरबाट ल्याइउका १२, गोरखाबाट ल्याइएका चार र तनहुँबाट ल्याएको एक शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो ।
बाँकी रहेका पाँच शव शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको २० जनाको टोलीले व्यवस्थापन गरेको हो । दुई पुरुष, दुई महिला र एक बालकको शव शुक्रबार व्यवस्थापन गरिएको हो । शुक्रबार दिउँसो ४ बजे जिल्ला ल्याइएका सबै शव व्यवस्थापन सकिएको छ ।
यसअघि भदौ १६ गते पहिचान हुन नसकेका ७६ शव पोखरा–१६, उपल्लो दीपको सिसौघारीमा जमिनमुनि व्यवस्थापन गरिएको थियो । २१ शव भने आफन्तले पहिचान गरी बुझेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । ‘आफन्तले पहिचान गर्ने भनेकाले राखिएका पाँच शवको पनि पहिचान हुन नसकेपछि शुक्रबार व्यवस्थापन गरिएको छ,’ बरालले भने ।
व्यवस्थापन गरिएका शवहरुमा ट्याग नम्बर ( बिकेडी १, २ क्रमशः ) राखिएको छ । ती ट्याग राखिएका शवहरुको विवरण कम्युप्टरमा राखिएका छन् । शवको डिएनए निकालिएको छ ।पहिचान हुन नसकेका शवको पहिचान अहिलेलाई बिकेडी १, २, ३ आदि भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पहिचान खुल्न बाँकी शवहरू व्यवस्थापनमात्र गरिएको जनाउँदै पछि सनाखत हुने विकल्प बाँकी रहेको उल्लेख गरे । ‘हामीलेशवहरुबाट निकालेकोडिएनएको स्याम्पलसँग पछि उहाँहरुका आफन्तले दिएको स्पाम्पल मिल्न गएमा शव हस्तान्तरण गर्न सकिन्छ,’ कार्कीले भने, ‘यो अन्त्येष्टि होइन; व्यवस्थापनमात्र हो । सम्पूर्ण सावधानी अपनाएर हामीले व्यवस्थापन गरेका छौँ ।’
बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डिएनए’ नमूना संकलन भइरहेको हो । शुक्रबार साँझसम्म कास्की ल्याइएका शवमध्ये ८१ वटाको डिएन एक जाँच भइसकेको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना संकलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट भइरहेको छ ।
शुक्रबार साँझसम्म २५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा आएर डिएनको नमुना दिएका छन् । नमुना दिएका सर्वसाधारणको नमुना कुनै अपरिचित शवको नमुनासँग मिलेमा उनीहरुलाई ती शव हस्तान्तरण गरिनेछ । बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो ।





