पोखरा / त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।
अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिइन्।
उनका अनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ। केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो।

शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उनले बताइन्। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ।
नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई–तीन दिन लाग्ने अधिकारीले बताइन्। त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ।
उनले भनिन्, ‘आज दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ। सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ। त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।’





