शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

हिमाल कसरी जोगाउने ?

हिमाल कसरी जोगाउने ?

देशभरकै पालिका प्रमुख र प्रदेशका वातावरण हेर्ने मन्त्रीको उपस्थितिमा भदौ ३० र ३१ गते जोमसोममा जलवायु संकट समाधानका उपाय खोजिने


  • अमृत बास्कुने
  • भाद्र २८ २०८३, आइतबार

म्याग्दी हुँदै मुस्ताङ प्रवेश गर्ने जोमसोममा भदौ ३० र ३१ गते फरक प्रकृतिको सम्मेलन हुँदै छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका असर, त्यसबाट उत्पन्न विपद् र बदलिँदो वातावरणीय अवस्थाबीच स्थानीय तहले खेल्नुपर्ने भूमिकामाथि केन्द्रित हुँदै घरपझोङ गाउँपालिकाले ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ आयोजना गर्न लागेको हो । सम्मेलनका लागि देशभरका स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई गाउँपालिकाले निमन्त्रणा गरेको छ ।

सम्मेलनमा हालसम्म ३४० स्थानीय तहले सहभागिता रहने जानकारी गराइसकेका छन् । गाउँपालिकाका सूचना अधिकारी विकास सञ्ज्यालले स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा उनीहरूका लागि आवास, भोजन तथा आवश्यक व्यवस्थापनको तयारीसमेत भइरहेको जनाए ।

लेखक

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई एउटै थलोमा भेला गराएर जलवायु परिवर्तनले स्थानीय तहमा पारेका प्रभावबारे साझा धारणा बनाउने उद्देश्य सम्मेलनको रहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । घरपझोङ गाउँपालिकाले सबै प्रदेशका वातावरण हेर्ने मन्त्री तथा सम्बन्धित निकायलाई समेत सहभागिताका लागि पत्राचार गरेको छ ।

सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको र प्रधानमन्त्रीको सहभागिता सम्भव नभए वातावरणमन्त्री वा मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउने तयारी भइरहेको छ ।

हिमालमा देखिएको परिवर्तनको कथा
हिमनदी पग्लिने क्रम बढ्नु, हिमताल र हिमाली जलस्रोतमा परिवर्तन आउनु, हिमपहिरो तथा पहिरोको जोखिम बढ्नु, असामान्य वर्षा हुनु, बाढी आउने स्वरूपमा परिवर्तन हुनु र परम्परागत मौसम चक्रमा फेरबदल देखिनुले हिमाली जीवनमा प्रत्यक्ष असर पारेको प्रष्ट हुन्छ । सम्मेलनका लागि तयार पारिएको अवधारणामा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर देखिएको उल्लेख छ । हिमनदी पग्लिने दर बढ्दै जाँदा हिमालको प्राकृतिक सन्तुलन बिग्रिरहेको, हिमनदी पग्लिएर बनेका हिमताल तथा पानीका स्रोतका कारण जोखिम बढिरहेको र मौसमसम्बन्धी पुराना अनुमान तथा मौसमी चक्रमा समेत परिवर्तन आएको हुनाले सम्मेलन गर्न आवश्यकता ठानेको अध्यक्ष लालचनको भनाइ छ ।

यसको असर हिमालमा मात्र सीमित छैन । खानेपानी र सिँचाइका स्रोतमा अस्थिरता, जैविक विविधतामा परिवर्तन, हिमाली वनस्पति तथा वन्यजन्तुको बासस्थानमा असर र कृषि, पशुपालन तथा पर्यटनमा प्रत्यक्ष प्रभाव देखिन थालेको छ । ‘जोमसोममा हुने यो सम्मेलनले फरक र महत्वपूर्ण सन्देश दिनेछ,’ अध्यक्ष लालचनले भने ।

भोटेकोसी विपत्तिको पाठ खोजिने
सम्मेलनमा भोटेकोसी क्षेत्रमा आएको ठूलो बाढीले पु¥याएको क्षति पनि छलफलको विषय बन्नेछ । हिमाली क्षेत्रमा अचानक आउने बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटना किन बढिरहेका छन्, यस्ता विपद्का कारण के हुन् र आगामी दिनमा स्थानीय तहले कसरी तयारी गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल गरिनेछ ।

विश्वका औद्योगिक तथा विकसित मुलुकबाट हुने ठूलो परिमाणको कार्बन उत्सर्जनको असर नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने हिमाली मुलुकले भोग्नुपरेको विषय पनि सम्मेलनमा उठाइनेछ । नेपालको योगदान विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको असर भने हिमालदेखि पहाड र तराईसम्म देखिएको छ । त्यसैले जलवायु न्याय, अनुकूलन, क्षति तथा नोक्सानी र स्थानीय तहको भूमिकाका विषयमा सम्मेलनले साझा आवाज निर्माण गर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्षले लालचनले सुनाए ।

घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेत सम्मेलनको उद्देश्य हिमालका समस्या गन्ने र चर्चा गर्नेमात्र होइन, हिमाल जोगाउने उपायबारे समेत गम्भीर छलफल गर्नु रहेको बताउँछन् । सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा सिर्जित समस्या, चुनौती र अवसर पहिचान गरी अनुकूलन तथा न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ ।

थानीय तहका जनप्रतिनिधि, वातावरण तथा जलवायु क्षेत्रका विज्ञ, सम्बन्धित निकाय र सरोकारवालाबीच प्रत्यक्ष छलफल गराउने तयारी छ । जलवायु परिवर्तनको असर एउटै स्थानीय तहको सीमाभित्र सीमित नहुने भएकाले साझा समस्या समाधानका लागि स्थानीय तहबीच सहकार्य आवश्यक छ ।

‘घरपझोङ घोषणापत्र’ जारी हुने
सम्मेलन छलफल गरेर सकिने कार्यक्रम नबनाउने आयोजकको तयारी छ । कालीगण्डकी नदीको तट, मुक्तिनाथ भगवान् र नीलगिरी हिमालको काखमा बसेर जलवायु परिवर्तनका विषयमा छलफल गर्दै ‘जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ जारी गर्ने तयारी छ । देशभरका स्थानीय तहबाट आएका जनप्रतिनिधिले आ–आफ्ना क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका समस्या र त्यससँग जुध्न गरिएका प्रयासका अनुभव सम्मेलनमा राख्नेछन् ।

ती अनुभव र छलफलबाट साझा धारणा निर्माण गरी घोषणापत्रमार्फत सरकार तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्य छ । निमन्त्रणापत्रमा समेत सम्मेलनलाई एकीकृत आवाज र संयुक्त ऐक्यबद्धतामार्फत् नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको उल्लेख छ ।

सम्मेलन भदौ ३० र ३१ गते जोमसोम स्थित घरपझोङ गाउँपालिका–४ मा रहेको जोमसोम कम्युनिटी हलमा आयोजना हुँदै छ । सम्मेलन बिहान ८ बजेदेखि सुरु हुने छ । देशका विभिन्न भूगोलबाट आउने स्थानीय तहका जनप्रतिनिधिले दुई दिनसम्म जोमसोममा रहेर जलवायु परिवर्तनका विषयमा छलफल गर्ने छन् ।

मुस्ताङ आफैंमा जलवायु परिवर्तनको प्रभावलाई नजिकबाट अनुभव गरिरहेको हिमाली जिल्ला हो । यहाँको हिमाली वातावरण, जलस्रोत, कृषि, पशुपालन तथा पर्यटनमा आएको परिवर्तनलाई सम्मेलनका छलफलसँग जोडेर हेर्न सकिनेछ ।

स्थानीय अनुभवलाई जोड्ने प्रयास
जलवायु परिवर्तनका विषयमा नेपालमा विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन हुँदै आएका छन् । तर स्थानीय तहमा दैनिक रूपमा देखिएका समस्या र त्यससँग जुध्न स्थानीय सरकारले गरिरहेका प्रयास त्यस्ता बहसमा पर्याप्त रूपमा समेटिन नसकेको गुनासो पनि सुनिन्छ । घरपझोङ सम्मेलनले भने स्थानीय तहलाई नै केन्द्रमा राख्ने प्रयास गरेको छ ।

कुनै हिमाली गाउँमा खानेपानीको मुहान सुक्दै गएको हुन सक्छ । कतै हिमपहिरोको जोखिम बढेको हुन सक्छ । कतै खेती गर्ने समय फेरिएको हुन सक्छ । कतै परम्परागत पशुपालन प्रभावित भएको हुन सक्छ । कतै पर्यटकीय क्षेत्रमै मौसमको अनिश्चितताले असर पारेको हुन सक्छ । यी समस्या फरक देखिए पनि तिनको साझा सम्बन्ध जलवायु परिवर्तनसँग जोडिएको हुन । सम्मेलनले यस्ता स्थानीय अनुभवलाई एउटै मञ्चमा ल्याएर समाधानका साझा उपाय खोज्ने अवसर दिनेछ ।

सम्मेलनबाट ठूलो अपेक्षा
यस्तो बहस गर्दा प्रायः प्रश्न उठ्छ—हिमाल जोगाउने जिम्मेवारी कसको ? जलवायु परिवर्तन विश्वव्यापी समस्या भए पनि यसको असर स्थानीय स्तरमै महसुस हुन्छ । त्यसैले समाधानका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतासँगै स्थानीय तहको तयारी पनि उत्तिकै आवश्यक हुन्छ । स्थानीय तहले वातावरण संरक्षण, वन तथा जलाधार संरक्षण, विपद् पूर्वतयारी, सुरक्षित बस्ती विकास, जलस्रोत संरक्षण, दिगो पर्यटन, कृषि अनुकूलन र स्थानीय जनतालाई सचेत बनाउने काममा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

घरपझोङ गाउँपालिकाका लागि यो सम्मेलन आयोजना गर्नु आफैंमा ठूलो चुनौती हो । अध्यक्ष लालचनले सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नलिई परिणाममुखी बनाउने प्रयास भइरहेको सुनाए । मुस्ताङको हिमाललाई पृष्ठभूमिमा राखेर आयोजना हुने सम्मेलनले देशका स्थानीय सरकारलाई एउटै प्रश्नमा उभ्याउनेछ जलवायु परिवर्तनको असर बढ्दै जाँदा अब स्थानीय तहले के गर्ने ? भोटेकोसी जस्ता विपद्का घटनाबाट के सिक्ने ? हिमनदी र जलस्रोत कसरी जोगाउने ? हिमाली बस्तीलाई कसरी सुरक्षित बनाउने ? कृषि र पशुपालनलाई बदलिँदो मौसमअनुकूल कसरी बनाउने ? पर्यटनलाई वातावरणमैत्री कसरी बनाउने ? सबैभन्दा महत्वपूर्ण, जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि नेपालले भोगिरहेको क्षति र जोखिमबारे विश्व समुदायलाई कसरी सुनाउने ?

यी प्रश्नको उत्तर खोज्ने प्रयास नै जोमसोममा हुने सम्मेलनको मुख्य उद्देश्य हो । देशभरका स्थानीय तहका जनप्रतिनिधि भेला भएर जारी गर्ने घोषणापत्रले कागजमा मात्र सीमित नभई आगामी दिनको नीति र व्यवहारमा समेत प्रभाव पार्न सक्यो भने सम्मेलन सार्थक हुनेछ । हिमालको सौन्दर्य हेर्न जोमसोम पुग्ने पर्यटकका लागिमात्रै होइन; हिमालको भविष्यबारे चिन्ता गर्ने जनप्रतिनिधि र सरोकारवालाका लागि पनि आगामी भदौ ३० र ३१ गतेको जोमसोम महत्वपूर्ण गन्तव्य बन्ने तयारीमा छ । यस पटक जोमसोममा हिमालको सुन्दरता हेर्नेमात्रै होइन, बदलिँदो हिमालको पीडा सुन्ने र त्यसलाई जोगाउने बाटो खोज्ने तयारी हुँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->