बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६ सय १३ र स्थानीय उपभोक्ताको ९ लाख ७६ हजार २ सय ७५ रुपियाँ गरी कुल ६८ लाख २६ हजार ८ सय ८८ रुपियाँको लागतमा अर्बाउदी खानेपानी आयोजना सम्पन्न भएको हो ।
आयोजनाअन्तर्गत ३६ वटा मिटर जडिट धारा, ३ वटा ट्याङ्की, १ वटा पानी संकलन ट्याङ्की, १ वटा वितरण ट्याङ्की, १ वटा पम्प हाउस, १ वटा संकलन ट्याङ्की, ४ वटा जडसन च्याम्बर निर्माण गरिएको छ । घरघरमा पानी वितरण गर्न २ हजार ५ सय ८५ मिटर पाइप विस्तार र ट्याङ्कीहरुको सुरक्षाको लागि तारबारसमेत गरिएको छ ।
‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पानीगैरा, गग्रेगरा र लोसे मूलको पानी आयोजनामार्फत संकलन गरेर घरघरमा वितरण गरिएको अर्बाउदी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सचिन थापाले जानकारी दिए ।
आयोजना बनेपछि खानेपानीको चरम अभाव झेल्दै आएका अर्बाउदीबासीलाई ठूलो राहत मिलेको थापाले बताए । ‘‘सुख्खा याममा पानीका लागि खोलाखोल्सामा धाउनुपथ्र्याे अब, हिउँद–वर्षा दुवै समयमा शुद्ध खानेपानीको प्रबन्ध हुनेछ’’ थापाले भने ।
अध्यक्ष थापाका अनुसार, २०८१ पौष १ गते उपभोक्ता समिति गठन गरी पौष ५ गते आयोजनाको सर्वेक्षण गरिएको थियो । २०८२ भदौ २० गते गोर्खा वेल्फेयरसंग सम्झैता गरी कार्तिकदेखि आयोजना निर्माणको काम शुरु गरिएको थियो ।
आयोजनाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पर्यटकीय गाउँ भकुण्डेबासीले घरघरमा खानेपानी ल्याउन जुटाएको जनसहभागिताको प्रशंसा गरे ।
भकुण्डेको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले अध्ययन गरिहेको बताउँदै खड्काले मुहान तथा श्रोतको पहिचान गर्न सकिएमा आम नागरिकलाई व्यवस्थित रुपमा घरघरमा खानेपानीको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाए । आयोजनाको मर्मत सम्भार कोषमा नगरपालिकाले २ लाख र स्थानीयले ८३ हजार जम्मा गरेका छन् ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालका लिला पुन शेरचनले रमणीय गाउँमा देखिएको खानेपानी समस्या समाधानका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजना सम्पन्न गर्न स्थानीयले देखिएको सक्रियता र सहयोगका लागि धन्यवाद व्यक्त गरे ।





