कास्की/कास्कीको माछापुच्छ«े गाउँपालिकामा अवस्थित ५ हजार ५ सय ८७ मिटरको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् । मर्दी आरोहण गर्ने युवाहरूलाई घाचोक–माछापुच्छ«े–पोखरा सम्पर्क समाजले शनिबार सम्मान गरेको छ ।
स्थानीय युवाबाट मर्दी हिमालको सफल आरोहण हुनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ । यसले मर्दी हिमालको थप प्रचारप्रसार हुनुका साथै समग्र माछापुच्छ्रे क्षेत्रको पर्यटन विकास र समृद्धिमा योगदान पुग्ने विश्वास लिइएको छ ।
समाजका अध्यक्ष तोयनाथ बैरागी लम्साल, सल्लाहकार मीनराज लम्साल लगायतले आरोहीलाई सम्मान गरे । माछापुच्छ«े १ का नारायण गुरुङ, नवीन गुरुङ, रामबहादुर परियार, किसान थापामगर र अर्जुन विक, वडा नं. ३ का क्षेत्रबहादुर गुरुङ र सुदीप तामाङ तथा म्याग्दीका खिम पाइजा र गोरखाका मनुमान गुरुङले गत साउन अन्तिम साता मर्दी हिमालको सफल आरोहण गरेका थिए ।
आरोही क्षेत्रबहादुरले मर्दी हिमाल आरोहणका क्रममा सुरुआती चरणमा कठिनाइ भए पनि चुचुरोमा पुगेपछि छुट्टै आनन्द अनुभूति हुने सुनाए । उनले मर्दी हिमाललाई हिमाल आरोहणको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याए ।
‘एभरेस्ट, अन्नपूर्ण लगायत ७ हजार मिटरभन्दा बढी उचाइका हिमाल चढ्नुअघि मर्दी हिमालमा तालिम गरेर जाँदा आरोहण सहज हुन्छ । मर्दी चढेपछि अर्को हिमाल चढ्न धेरै नै सहज हुने भएकाले यसलाई ट्रेनिङ सेन्टरका रूपमा विकास गर्न सकेमा धेरै पर्यटक भिœयाउन सकिन्छ’, उनले भने ।
घाचोक माछापुच्छ«े पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ लम्सालले स्वस्थ रूपमा सफल आरोहण गरेर फर्कनु आफैंैमा महत्वपूर्ण उपलब्धि भएको जनाए । उनले मर्दी आरोहणबाट प्राप्त साहस र अनुभवले आरोहीलाई आगामी दिनमा अझ अग्ला हिमाल आरोहण गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति विष्णु पोखरेल, समाजका उपाध्यक्ष चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ तथा सदस्य दुर्गाबहादुर गुरुङ लगायतले हिमाल आरोहण चुनौतीपूर्ण कार्य भए पनि माछापुच्छ«े गाउँपालिकाको काखमा रहेको मर्दी हिमाल स्थानीय युवाले सफलतापूर्वक आरोहण गर्नु गौरवको विषय भएको विचार राखे ।





