शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

राष्ट्रिय स्वाभिमानको प्रश्न : नेपालको परराष्ट्र नीति कहाँ चुक्यो ?

राष्ट्रिय स्वाभिमानको प्रश्न : नेपालको परराष्ट्र नीति कहाँ चुक्यो ?


  • दिपेन्द्र बहादुर घिमिरे
  • भाद्र ३० २०८३, मंगलबार

नेपालका राजा श्री ५ महेन्द्रको शासनकालमा नेपालले विश्वमञ्चमा आफ्नो छुट्टै पहिचान, सम्मान र कूटनीतिक सन्तुलन कायम गरेको भन्ने धारणा धेरैले राख्छन् । त्यस समय नेपालले भारत, चीन, अमेरिका र रुस जस्ता शक्तिराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको उल्लेख गरिन्छ । असंलग्न परराष्ट्र नीतिलाई नेपालले दृढतापूर्वक अँगालेको थियो, जसले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा चिनाउन मद्दत गरेको मानिन्छ ।

त्यसबेलाको नेपालको कूटनीतिक उचाइ र आजको अवस्थाबीच तुलना गर्दा धेरै नेपालीलाई ठूलो अन्तर महसुस हुन्छ । आज नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव, स्पष्ट कूटनीतिक दृष्टिकोण र राष्ट्रिय हितको प्रभावकारी पैरवी गर्न नसकेको अनुभूति व्यापक रूपमा व्यक्त हुने गरेको छ ।

यसै सन्दर्भमा, आफ्नै छिमेकमा आयोजित ब्रिक्स (द्यच्क्ष्ऋक्) शिखर सम्मेलनमा नेपालले अपेक्षित स्तरको भूमिका वा सहभागिता प्राप्त गर्न नसकेको अवस्थालाई धेरैले नेपालको परराष्ट्र नीतिको कमजोरीका रूपमा व्याख्या गरेका छन् । यदि नेपाललाई आफ्नै क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत पर्याप्त महत्व दिन सकिएको छैन भने, यसले हाम्रो कूटनीतिक क्षमता, तयारी र राष्ट्रिय हितको प्रभावकारी प्रस्तुतीकरणबारे गम्भीर प्रश्न उठाउँछ ।

राजनीतिमा घरायसी व्यवस्थापन र बाह्य कूटनीति दुवै समान रूपमा महत्वपूर्ण हुन्छन् । घरभित्र जनविश्वास कमजोर हुँदै जाने, सार्वजनिक कार्यक्रममा आफ्नै मन्त्रीहरू विवाद र विरोधको सामना गर्ने, र बाहिर नेपालको कूटनीतिक प्रभाव क्रमशः घट्दै जाने अवस्था कुनै पनि राष्ट्रका लागि चिन्ताको विषय हो ।

हाम्रा अग्रजहरूले भन्ने गर्थे “हामी मरेपछि आफ्नै अघिल्तिरको भाग अरूले टिपेर खाँदा पनि टुलुटुलु हेरेर बस्ने अवस्था नआओस् ।” दुर्भाग्यवश, आज धेरै नेपालीले त्यही उखान वर्तमान राष्ट्रिय अवस्थासँग दाँज्ने गरेका छन् । आफ्नो राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन नसक्ने, अवसरहरूको सदुपयोग गर्न नसक्ने र अन्तर्राष्ट्रिय मञ्चमा अपेक्षित प्रभाव देखाउन नसक्ने अवस्था स्वाभिमानी राष्ट्रका लागि गौरवको विषय हुन सक्दैन ।

नेपालको परराष्ट्र नीति कुनै दल, व्यक्ति वा सरकारको मात्र विषय होइन, यो सम्पूर्ण राष्ट्रको प्रतिष्ठा, स्वाभिमान र दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको विषय हो ।

राष्ट्रिय सुधारका ठोस उपाय
नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनः स्थापित गर्न केही आधारभूत सुधारहरूमा जोड दिन आवश्यक देखिन्छ ।
–राष्ट्रिय हितलाई दलगत स्वार्थभन्दा माथि राख्दै दीर्घकालीन र स्थिर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ ।
–भारत, चीन, अमेरिका, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ तथा अन्य साझेदारहरूसँग सन्तुलित, परिपक्व र परिणाममुखी कूटनीतिक सम्बन्ध विस्तार गर्नुपर्छ ।
–दक्ष, अनुभवी र व्यावसायिक कूटनीतिज्ञहरूको नेतृत्वमा परराष्ट्र संयन्त्रलाई थप सुदृढ बनाइनुपर्छ ।
–राष्ट्रिय एकता, सुशासन, कानुनी शासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता बढाउनुपर्छ ।
–जलस्रोत, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र भूराजनीतिक अवस्थाबाट प्राप्त अवसरलाई राष्ट्रिय हितमा उपयोग गर्ने स्पष्ट रणनीति बनाउनुपर्छ ।
–विदेशमा रहेका नेपाली समुदाय, विज्ञ तथा लगानीकर्तासँग प्रभावकारी सहकार्य गरी आर्थिक कूटनीति सुदृढ गर्नुपर्छ ।
–राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा सबै राजनीतिक शक्तिबीच न्यूनतम राष्ट्रिय सहमति कायम गर्दै एउटै राष्ट्रिय आवाज निर्माण गर्नुपर्छ ।

नेपालको गौरवशाली इतिहास हाम्रो प्रेरणा हुन सक्छ, तर भविष्यको सम्मान विगतको स्मरणले मात्र प्राप्त हुँदैन । त्यसका लागि दूरदर्शी नेतृत्व, सक्षम कूटनीति, सुशासन, राष्ट्रिय एकता र राष्ट्रिय हितप्रतिको अटल प्रतिबद्धता आवश्यक हुन्छ । जब यी आधारहरू बलिया हुन्छन्, तब मात्र नेपालले विश्वमञ्चमा सम्मानित, स्वाभिमानी र प्रभावशाली राष्ट्रका रूपमा आफ्नो स्थान अझ मजबुत बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->