पोखरा/ न्यू ग्यालेक्सी मावि पोखरा–३ नदिपुरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनस्र्थापनका लागि ५ लाख १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले हिसान कास्की मार्फत ३ लाख १७ हजार ७ सय ७७ र एन प्याब्सन कास्की मार्फत २ लाख रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । विद्यालय हिसान र एन प्याब्सनमा आवद्ध भएकोले तीनै संस्थामार्फत प्रधानमन्त्री राहत कोषामा सहयोग हस्तान्तरण गरेको हो ।
उक्त रकम न्यू ग्यालेक्सी माध्यामिक विद्यालयका प्रिन्सिपल तथा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, विद्यालयका निर्देशक तथा एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु कायस्थ, भाइस प्रिन्सिपल राजेश श्रेष्ठले हिसानका केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, कास्कीका अध्यक्ष दिवाकर जैसी, उपाध्यक्ष पुरन कुँवर तथा एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीलेलाई प्रधानमन्त्री राहत कोषामा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेका थिए ।
विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय परिवारबाट संकलित रकम सहयोग गरेको विद्यालयका प्रिन्सिपल शर्माले जानकारी दिए । शर्माले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु विद्यालयको सामाजिक दायित्व भएको बताए। उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वको संस्कार सिकाउनुपर्नेमा जोड दिए।
शर्माले प्राकृतिक विपद् कुनै व्यक्ति वा समुदायको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको उल्लेख गर्दै विपद्का बेला सबै क्षेत्र एकजुट भएर प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा लाग्नुपर्ने बताए।
आफ्नो क्षमताअनुसार विपद् प्रभावित नागरिकको सहयोगमा योगदान गर्न पाउनु विद्यालय परिवारका लागि गौरवको विषय भएको विद्यालयका निर्देशक राजु कायस्थाले बताए । विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।





