निजी क्षेत्रको व्यावसायिक कुशलता, दक्षता र उद्यमशीलताको विकासले आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् । मुलुकले मिश्रित अर्थनीति अबलम्वन गरेसँगै निजी क्षेत्रको भूमिका वृहत बन्दै गएको छ । सरकारसँगको साझेदारी, सहकार्य र समन्वयबाट निजी क्षेत्रले आर्थिक गतिविधिलाई चलायमान् बनाइराखेका छन् ।
वि.सं. २०११ सालमा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघलाई पोखराको जेठो संस्थाका रुपमा चिनिन्छ । संघले पोखराको व्यावसायिक क्षेत्रमा मात्र नभई सामाजिक गतिविधिमा समेत विशिष्ट र नेतृत्वदायी भूमिका खेल्दै आएको छ । पोखराको समृद्धिका लागि पोखरा उद्योग वाणिज्य संघको भूमिका प्रशंसनीय छ । व्यावसायिक, सामाजिक तथा साँस्कृतिक विरासत बोकेको संस्थाले नयाँ नेतृत्वमा शोभा गौतमलाई पाएको छ ।
संघको ७२ वर्षको इतिहासमा पहिलो पटक महिलाले अध्यक्षको नेतृत्व गर्ने अवसर जुटेको हो । विगतको पोखारा उद्योग वाणिज्य संघको साख जोगाउन नयाँ नेतृत्वलाई चुनौती छ । त्यस्तै, संघलाई नयाँ उचाइमा पु¥याउने अवसर पनि उत्तिकै छ ।
सामाजिक उत्तरदायित्व स्वरुप संघले विगतमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउन रिले अनसन तथा राजधानीमा सिंहदरवार घेर्ने दबाबमूलक कार्यक्रम सम्पन्न गरी राज्यको ध्यान केन्द्रीत गरेको थियो । पृथ्वीनारायण क्याम्पस, बाल मन्दिर स्कुल जस्ता शैक्षिक संस्थाको स्थापना तथा विकासका लागि महत्वपूर्ण योगदान दिएको थियो । यही असारमा संघकै अगुवाइमा पोखरा रोजगार मेला (जब फेयर) सम्पन्न गरी जागिर दिने र खोज्नेहरुबीच भेट गराई रोजगारीका अवसर खोजी कार्यमा अग्रसरता देखाएको थियो ।

लेखक
संघले स्रोत साधन, सीप तथा प्रविधिको परिचालन, रोजगारी सृजना, उद्यमशीलताको विकास, राजस्व वृद्धि र आन्तरिक बजारको विविधिता विस्तारमा उल्लेखनीय भूमिका खेल्दै आएको छ । त्यसैले संघले नयाँ नेतृत्व पाउँदा अवसर, जिम्मेवारी र चुनौतीका बारेमा बहस तथा पैरवी गर्नु आवश्यक छ ।
सर्वप्रथम त नयाँ नेतृत्वले नेपालको राजनीतिक घटनाबाट पीडित बनेका व्यापारी, उद्योगीको आत्मविश्वास बढाउनु आवश्यक छ । स्थानीय कृषि उत्पादनको विकास र विस्तार गर्ने, बजारको खोजी गरी कृषि उद्यमको प्रवद्र्धन गर्नु जरुरी छ । व्यावसायीका पीर, मर्का, समस्या समाधान गरी समग्र निजी क्षेत्रको उत्थानका लागि काँध थाप्नु छ । युवा उद्यमीको मनोबल उच्च पार्न युवालाई संघको आर्थिक तथा सामाजिक गतिविधिमा समावेश गर्नु पर्दछ ।
लगानीका क्षेत्रहरुको खोज, अनुसन्धान, पहिचान र विविधिकरण गर्नेतर्फ संघको ध्यान जान जरुरी छ । स्वस्थ प्रतिस्पर्धात्मक बजारलाई आत्मसात गर्न संघ तयार रहनु पर्दछ । आजभोलि उद्योग, कलकारखानाबाट उत्पादनशील वस्तुको निर्माण गर्नु भन्दा विदेशी आयातीत वस्तु तथा सेवाको व्यवसायमा आकर्षित हुने परिपाटी छ । यस्तो अभ्यासले परनिर्भता बढाउदै लैजान्छ ।
आन्तरिक उत्पादनमा लगानी गर्नु तथा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना गर्नु संघको दायित्व अन्तर्गत पर्न सक्छ । आधारभूत खाद्य वस्तुमा समेत छिमेकी राष्ट्रसँग निर्भर गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पोखराका उद्यमी, व्यवसायीले भूमिका गर्नु पर्दछ ।
आज उत्पादनमूलक उद्योग सञ्चालनका लागि किन आकर्षित भएनन् भन्ने विषयतर्फ संघको ध्यान केन्द्रीत हुनु पर्दछ । लघु, साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने, सहकारीमार्फत् कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने, कृषि बजारीकरण तथा आधुनिकीकरणमा जोड दिनु पर्दछ । आन्तरिक उत्पादनलाई विदेशमा निर्यात गर्ने खालको उद्योग मुलुकलाई चाहिएको छ । संघले नवप्रवर्तन र स्टार्ट अप प्रवद्र्धनमार्फत् युवा उद्यमीलाई प्रोत्साहन गर्ने गर्नु पर्दछ ।
सिन्डिकेट तथा कार्टेलिङ जस्ता गैरकानुनी क्रियाकलापलाई निरुत्साहित गरी वस्तु तथा सेवा प्रवाहमा सहजीकरणको भूमिका निर्वाह गर्नु पर्दछ । उद्योगी, व्यवसायीको हकहितका विषयलाई स्थापित गर्न पोखरा उद्योग बाणिज्य संघ क्रियाशील हुनु पर्दछ । वातावरणीय तथा संस्थागत सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने असल औद्योगिक श्रम सम्बन्ध विकास गर्ने सार्वजनिक निजी साझेदारीको अवधारणालाई अंगिकार गरी अर्थतन्त्र उकास्न सहयोगीको भूमिका खेल्नु पर्दछ ।
पोखरा सुन्दर पर्यटकीय सहर भएकाले पर्यटन बजारको विस्तार, नयाँ पर्यटकीय गन्तव्यको खोज गर्नु आवश्यक छ । आजभोलि बजारको दायरा, सीमा फरक छ । भौतिक उपस्थितिमा मात्र बजार सीमित छैन । अनलाइनमार्फत् बजारको दायरा फराकिलो बनेको छ । भीडमा गएर सामान बेच्न नै पर्छ भन्ने छैन । मोलमोलाई पनि अनलाइनबाट नै हुने भएकाले भौतिक बजारको खाँचो लगभग हटिसकेको छ । अनलाइन कारोबार पनि अत्यधिक हुन थालेको छ । तर विडम्बना के छ भने अनलाइन व्यापारलाई राज्यले कर प्रणालीमा आवद्ध गनै सकेको छैन । अनलाइन बजार तथा इकमर्शका कारोबारहरुलाई डिजिटल तवरबाटै करको दायरामा ल्याउन संघले सरकारलाई सहयोग गर्नु पर्दछ ।
अनलाइनबाट ठगी हुने जोखिम पनि बढ्दै गएको छ । गुणस्तरीय वस्तु तथा सेवाहरु नपाइने जस्ता गुनासा पनि थुप्रिदै गएका छन् । यस्तो अवस्थामा संघको कार्यक्षेत्रमा पर्ने अनलाइन व्यापार सञ्चालन गर्ने व्यापारीलाई व्यापार अनुशासन तथा ग्राहक हित संरक्षणका लागि तालिम, गोष्ठी आयोजना गर्नु पर्दछ । राज्य स्वयंले व्यापार व्यवसाय गर्नुभन्दा निजी क्षेत्रलाई उत्पादन वितरणका श्रृङ्खलामा संलग्न गराउनु पर्दछ । घाटामा गएका कम्पनी तथा फर्महरुले पुनः सञ्चालनका लागि मापदण्ड बमोजिम पुनकर्जाको व्यवस्था र प्राप्तिका लागि प्रक्रियागत सरलीकरण राज्यबाट हुनु पर्दछ । देशमा उत्पादन अभिवृद्धि गर्न, रोजगारी सिर्जना, राजस्व बढाउन तथा आयात प्रतिस्थापन गरी समग्र आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न संघको महत्वपूर्ण भूमिका रहन्छ ।
संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी नवउदारवाद अर्थनीतिबाट सञ्चालन गर्नु पर्दछ । पोखरेली जनतामा बजारको पहुँच विस्तार गर्नु पर्दछ । बजारलाई स्वस्थ र प्रतिस्पर्धात्मक बनाउन संघको झन् सान्दर्भिकता बढ्दै गएको छ । पोखराको स्थानीय पुँजी, सीप र क्षमतालाई उपयोग गर्न आवश्यक पहल कदमी चाल्नु पर्ने बेला आएको छ । उद्योग, वाणिज्य तथा अन्य विषयसम्बन्धी मेला तथा प्रदर्शनी कार्यक्रम सञ्चालन व्यवस्थापन र प्रवद्र्धन गर्न क्रियाशील हुनु पर्दछ । संस्थागत सामाजिक उत्तरदायित्व, नैतिक मूल्य, मान्यता र व्यावसायिक आचारसंहिता जस्ता विषयलाई स्थापित गर्नु पर्दछ ।
युवालाई व्यावसायिक अनुभवी र सीपयुक्त बनाई लागनीका क्षेत्र विस्तारमा सहयोग गर्नु पर्दछ । चन्दा आतंक, चोरी, डकैती तथा व्यावसायिक असुरक्षाबाट मुक्त गराउन स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नु पर्दछ । विगतमा नेपालमा लगानी सम्मेलन आयोजना गरी वैदेशिक लगानी भित्र्याउने अपेक्षा राखियो । तर सोचे अनुरुप सम्मेलन आयोजना गरी वैदेशिक लगानी भित्र्याउन भने सकिएन । कुनै पनि लगानीकर्ताले आफ्नो पुँजीबाट प्रशस्त लाभको आशा राख्छन् । लाभ प्राप्त गर्ने आधार नै नभए पछि लगानीकर्ताले वेवास्ता गर्नु स्वभाविक मानिन्छ । तसर्थ संघले लगानीको उच्च प्रतिफल प्राप्त गर्ने वातावरण सृजना गर्न सरकारलाई खबरदारी गर्नु पर्दछ । आवश्यक परे राज्यलाई सल्लाह सुझाव दिई लगानीमैत्री वातावरण निर्माणमा योगदान गर्नु पर्दछ ।
पोखरेली व्यवसायीको हितका लागि चुनाव संघर्षमा काँध थाप्न खोजिएको विषयवस्तुलाई निर्वाचित वा गैरनिर्वाचित हुँदा पनि जिम्मेवारीबाट पन्छिन हुँदैन । जसरी विमानस्थत निर्माणको लागि दबाब दिन अग्रणी भूमिका खेलेको थियो । त्यसरी नै पोखराबाट व्यवसायिक उडानको निरन्तरताका सम्बन्धमा कृयाशिलता देखाउनु पर्ने बेला आएको छ । मुलुकको हित र समृद्धिका लागि निजी क्षेत्रले फड्को मार्नु पर्दछ । लगानीको परिणाम र प्रतिफल निकाल्न क्रियाशील बजार आवश्यक छ । लगानीकर्ताबाट राज्यले पाउने लाभका विषयमा मुलुक हाक्ने शासकहरुलाई जानकारी हुनु पर्दछ तबमात्र निजी क्षेत्रको पीर मर्काहरुको सम्बोधन हुन्छ ।
संघ राजनीति गर्ने थलो नबनोस् । संघलाई आर्थिक रुपान्तरणकारी योजना आवश्यक छ । जुन योजनाले पोखारालाई समृद्धितर्फ लम्काउन सकोस् । नेतृत्वमा उद्योगी व्यवसायीको पीरमर्का सम्बोधन गर्ने र भावी दिनमा साकार गर्न सकिने किसिमको प्रतिवद्धता हुनु पर्दछ । व्यावसायिक क्षेत्रको जल्दो बल्दो विषयलाई सम्बोधन गर्ने र मुलुकको खस्कदो अर्थतन्त्रलाई उकास्ने जिम्मेवारीबाट संघ पछाडि हट्नु हुँदैन । प्रतिवद्धतामा देखाएको सपना निर्वाचित हुँदा कार्यान्वयन गर्न कत्तिको अग्रसरता देखाइन्छ भन्ने विषय बढी महत्वपूर्ण हुृन्छ ।




