बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा बालुवा उत्खनन् तथा ओसारपसारमा संलग्न ३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका वडा नम्वर १ मालढुङ्गास्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी मालढुङ्गाद्धारा नियमित गस्ती तथा सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि नगरपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिए ।
प्रहरीले ध १ त ५५६, ध १ त ३९६ र ध १ त ५९३ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । उक्त सवारी साधनलाई नगरपालिकाले ५÷५ हजार रुपियाँ जरिवाना असुल गरेको अर्यालले बताए ।





