पोखरा / सडक विभागले बाढीपहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिनको निरन्तर कामपछि यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले बिहीबार बिहान ६ बजेदेखि कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा भएको जानकारी दिएका हुन्।
उनकाअनुसार पछिल्लो बाढीपहिरो असाधारण स्तरको विपद् थियो। पृथ्वीराजमार्ग तथा गल्छी-बेत्रावती-धुन्चे-स्याफ्रुबेँसी सडकमा यसको ठूलो प्रभाव परेको उनले बताए।
बाढीको पहिलो दिन ठूलो क्षति नभए पनि दोस्रो र तेस्रो दिन खोलाले सडकतर्फ कटान गर्न थालेपछि कृष्णभीरसहित विभिन्न स्थानमा समस्या देखिएको जैसीले बताए।
कृष्णभीरमा यसअघि पनि पहिरोको समस्या देखिँदै आएको उल्लेख गर्दै उनले पुरानो सपोर्टिङ टो–वाल खोलाले बगाएपछि यसपटक थप जोखिम सिर्जना भएको बताए।
समस्या देखिएलगत्तै भूगर्भविद्, जियोटेक्निकल विज्ञ तथा सडक निर्माणमा अनुभवी प्राविधिकसँग आकस्मिक छलफल गरेर तत्काल आधारभूत डिजाइन तयार पारिएको उनले जानकारी दिए।
विभागले उपलब्ध स्रोतसाधन परिचालन गरी काम शुरु गरेको सात दिनमै सडकलाई सुरक्षित अवस्थामा ल्याउन सफल भएको उनको दाबी छ।
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’
बाढीपहिरोपछि पृथ्वीराजमार्गको दीर्घकालीन अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको महानिर्देशक जैसीले बताए। तर पछिल्लो विपद्बाट वैकल्पिक सडकको आवश्यकता अझ स्पष्ट भएको भन्दै विभागले वैकल्पिक मार्ग निर्माणलाई तिब्रता दिने उनले बताए।

कृष्णभीरको जोखिम भविष्यमा पनि रहन सक्ने भएकाले वैकल्पिक सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने उनको भनाइ छ।
दुई साताभित्र बेत्रावती-धुन्चे-स्याफ्रुबेँसी जोड्ने लक्ष्य
विभागले बेत्रावती हुँदै धुन्चे-स्याफ्रुबेँसी सडकलाई करिव दुई साताभित्र जोड्ने लक्ष्यसहित काम अघि बढाइरहेको जैसीले बताए। स्याफ्रुबेँसीपछि रसुवागढीसम्म जोड्न स्याफ्रुबेँसीमा ल्याइने बेलीब्रिजलाई समेत प्रयोग गरिने उनले जानकारी दिए।
बेत्रावतीमा बेलीब्रिज राख्ने तथा बेत्रावतीतर्फको ठूलो भीरमा भइरहेको काम सम्पन्न भएपछि रसुवातर्फको सडकलाई थप प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ।
रसुवागढीतर्फको दीर्घकालीन सडक कुन तहबाट र कति लगानीमा निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन गरिने र त्यसमा चीनसँगको सरकारको नीतिसमेत जोडिने जैसीले बताए।
कृष्णभीरमा फेरि पहिरो गए वैकल्पिक रुट प्रयोग गरिने
कृष्णभीरमा पानी पर्दा पुनः पहिरो जाने सम्भावनालाई ध्यानमा राखेर विभागले वैकल्पिक मार्गलाई तयारी अवस्थामा राख्ने जनाएको छ। जैसीकाअनुसार कान्ति लोकपथ, त्रिभुवन राजपथ तथा अन्य वैकल्पिक मार्गमा यसअघि देखिएका समस्या पहिचान गरी सुधारको काम अघि बढाइनेछ।
माझिटारबाट फुर्के खोलातर्फ हुँदै धादिङबेँसी जाने मार्ग, गल्छीबाट त्रिशूलीतर्फ जाने सडक तथा धुन्चेतर्फका वैकल्पिक मार्गलाई पनि प्राथमिकताका साथ अघि बढाइने उनले बताए।





