बागलुङ/बागलुङ बहिरा संघमा आवद्व पदाधिकारी तथा सदस्यले भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका छन् ।
उनीहरुले एकआपसमा संकलन गरेको २६ हजार ६ सय १५ रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार बहिरा संघका सचिव बासु थकाली र पुर्व अध्यक्ष नलबहादुर थापाले सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदीलाई रकम हस्तान्तरण गरे ।
बागलुङ प्रशासनले जिन्सी सहयोग नदिन यसअघि नै आग्रह गरेपछि सबै संस्थाहरुले नगद रकम लगेर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने वा सिधैं प्रशासनमा बुझाउने गरेका छन् ।
यसरी बुझाइएको रकम प्रशासनले राहत कोषमा जम्मा गरिदिने र जिल्ला विपद् उद्दार समितिमा रेकर्ड राख्ने गरेको छ । यो अभियानमा अध्यक्ष अमृत शर्मा सहितका पदाधिकारीले यसअघि नै अगुवाई गरेर रकम संकलन गरेका थिए ।





