आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

‘संघको उपेक्षाले प्रदेशमाथि प्रश्न’

‘संघको उपेक्षाले प्रदेशमाथि प्रश्न’

दुःखका साथ भन्नुपर्छ प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयनमा संघ सरकारको सहजीकरण अझै हुन सकेको छैन


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८३, आइतबार

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले सहजीकरण नगर्दा प्रदेश सरकारहरुले कठिनाइ भोग्नु परेको टिप्पणी गरेका छन् । उनले वित्तीय संघीयता र कानुन निर्माणको अवस्था कमजोर रहेको उल्लेख गर्दै राजनीति संघीयताले मात्र जनअपेक्षा पूरा नहुने उल्लेख गरे ।

संविधान दिवसको अवसरमा शनिबार पोखरामा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘दुःखका साथ भन्नुपर्छ प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयनमा संघ सरकारको सहजीकरण अझै हुन सकेको छैन । यसले संघीयतामाथि नियोजित रूपमा प्रश्न उठाउन चाहनेहरूलाई मलजल पुगेको छ ।’

प्रदेशले निर्माण गरेका कानुनको व्यावहारिक कार्यान्वयन र प्रदेशका अधिकारको प्रयोगका लागि संघ सरकारसँग पटकपटक आग्रह गर्नुपर्ने परिस्थिति विद्यामान रहेको जनाउँदै उनलेसंविधानले व्यवस्था गरेको तीन तहबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन संघ सरकारको ध्यानाकर्षण गराए ।

संविधानले अधिकारमात्र दिएको नभई कर्तव्यबोधसमेत गराएको उल्लेख गर्दै उनलेयसको रक्षा गर्नु, मर्म र भावना आत्मसात् गर्नु साझा जिम्मेवारी भएको उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले भोटेकोशी बाढीका कारण संविधान दिवसमा उत्सहभन्दा पीडा बढी भएको सुनाए ।

‘गत वर्ष संविधान दिवसको पूर्वसन्ध्यामा भदौ २३ र २४ गतेको घटनामा हामीले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको थियो,’ उनले भने,‘त्यो कहालीलाग्दो घटनाबाट तङ्ग्रिन नपाउँदै रसुवामा आएको विनाशकारी बाढीले फेरि ठूलो पीडा थपेको छ ।’ संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार भएको उनको भनाइ छ । उनले युवा पुस्ताको आशा र विश्वास पूरा गर्ने गरी सरकार अघि बढेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान कानुनी दस्तावेजमात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान, त्याग र संघर्षको परिणाम भएको विचार राखे ।संविधानले संघ, प्रदेश र स्थानीय तहमा राज्यशक्तिको विकेन्द्रीकरण र जनताको घरदैलोसम्म शासन तथा सेवा प्रवाह पु¥याउने उद्देश्य लिएकोमा त्यसको व्यवहारिक कार्यान्वयनमा जोड दिए ।

‘यस दिनमा जनताको सार्वभौमसत्ता, संविधानको सर्वोच्चता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्ने प्रतिबद्धता अझ दृढ बनाउनुपर्दछ,’ प्रदेश प्रमुख भट्टले भने । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संविधानको मर्मअनुसार सुशासन, सामाजिक न्याय र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै समृद्ध समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->