बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलो पटक टन्सिलको सफल शल्यक्रिया गरिएको छ । बारम्बार हुने टन्सिलको समस्याबाट पीडित पर्वतको जलजला गाउँपालिका वडा नं. ३ का ३७ वर्षिया महिलाको टन्सिलको सफल शल्यक्रिया गरिएको हो ।
टन्सिलको आधुनिक बाइपोलर डायथर्मी विधिबाट शल्यक्रिया गरिएको हो । अस्पतालमा टन्सिलसम्बन्धी जटिल समस्याको शल्यक्रिया सफल भएपछि टन्सिलको उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने बाध्यता कम हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले विश्वास व्यक्त गरे ।
पटक–पटक टन्सिलाइटिस हुने, टन्सिल ठूलो भएर सास फेर्न वा खाना निल्न समस्या हुने, निद्राको समयमा सास अवरुद्ध हुने, टन्सिलमा फोका वा पस जम्ने तथा टन्सिलमा शंकास्पद घाउ वा असामान्य वृद्धि देखियो भने टन्सिलेक्टोमी गर्नुपर्ने कन्सल्टेन्ट नाक कान घाँटीरोग विशेषज्ञ (इ.एन.टी.) सर्जन डा. शरद तिवारीले जानकारी दिए ।
टन्सिलको शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै सास फेर्न तथा खाना निल्न सहज हुने, टन्सिलको संक्रमण नहुने तथा समस्या कम हुने र दैनिक जीवनयापनमा सहज हुने कन्सल्टेन्ट इ.एन.टी. सर्जन डा. मनिष न्यौपानेले बताए ।
कन्सल्टेन्ट इ.एन.टी. सर्जन डा. शरद तिवारी, डा. मनिष न्यौपाने, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. सन्दिप खत्री, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराई, एनेस्थेसिया सहायक मुन्ना कुमार यादव सहभागि टोलीले सफल शल्यक्रिया गरेको हो ।





