बागलुङ/म्याग्दीको बेनी–३ भकिम्ली घर भए पनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा छिन् । उच्च शिक्षाका लागि बजार झरे पनि आर्थिक उहाँ उनी सीप सिकेर काम गर्न वाध्य बनिन् ।
अभावका बेला उनले सिकेको ढाका बुन्ने सीपले उनलाई अहिले उद्यमी बनाएको छ । उनका बाबु कर्णबहादुर र आमा मिला सामान्य किसान हुन् । गाईभैसी पालेर गाउँमै बस्छन् । बैनी भावना र २ भाइलाई बागलुङ बजारमा राखेर उनले नै पढाएकी छन् ।
बिहान ७ बजे खोलेको उनको मेसिन राति १० बजेसम्म पनि चलिरहेको हुन्छ । मेसिन राखेको कोठाको मासिक ८ हजार भाडा लाग्छ । बस्ने कोठा ५ हजारको छ । खाने, बस्ने, भाइबैनीको पढाई खर्च गरी उनी मासिक ३० हजार तिर्छिन् ।
बाबुआमा बिरामी हुँदा बेला बेला बजार आइपुग्छन् । औषधी उपचार गराउनै पर्छ । त्यसबाहेक घर खर्च पठाउने पनि मनु नै हुन् । मासिक ४० देखि ५० हजार रुपैयाँ कमाउने लक्ष्यले मनुले मेहेनत गरेको बताइन् ।
‘मैले काम गरिनँ भने परिवार भोकै पर्छ, भाइबैनीको पढाइमा असर पर्छ’, उनले भनिन्, ‘लक्ष्य पूरा नगरी अन्यत्र जाने छुट मलाई छैन ।’ छिमेकीले विदेश जान र विवाह भने पनि उनले आँटेकी छैनन् । बरु आफ्नो उत्पादन विदेश पठाउन तम्सेकी छन् ।
आउने तीजका लागि अमेरिकामा बस्ने ३ जनाले ढाकाको साडी माग गरेका छन् । एउटा ढाकाको साडी तयार गर्न चारदेखि ५ दिन तानमा बसेर मेहेनत गर्नुपर्छ । ‘तोकेको समयमा साडी दिन नसके मेरो व्यवसायमा विश्वास टुट्छ’, उनले भनिन्, ‘विश्वास कायम राख्न सकियो भने नियमित अर्डर आइरहन्छ ।’
ढाकाको सादा साडी तयार गर्दा ९ हजार रुपैयाँमा बिक्री गर्न सकिन्छ । राम्रो बुटा भरियो भने १५ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । त्यसका लागि झण्डै एक तिहाइ लगानी धागोमा पर्छ । मेहेनत जोडेर मूल्य लिने गरेको उनले बताइन् ।
पछिल्लो समय नेपाली ढाकाका साडी विदेशमा बस्नेहरूले अर्डर गर्न थालेका छन् । सुरुमा त उनले स्थानीय रुपमा ग्राहक खोजेर काम गरिन्, अहिले भने अर्डर आउन थालेको छ । उनी तयार भएका सामाग्री सामाजिक सञ्जालमा पनि राखेर प्रचार गर्छिन् । त्यसपछि आउने अर्डर अनुसार उनले काम गरिरहेकी छन् ।
‘फुर्सदका बेला केही साडी, पच्छ्यौरा, झोला, टोपी र सल बनाएर राख्छु’, उनले भनिन्, ‘अर्डरको बेला उनीहरुकै काम सक्नुपर्छ ।’ पढ्दै गरेकी बैनी भावनाले पनि काम सिकेर पच्छ्यौरीमा बुट्टा भर्न थालेकी छन् ।
बैनीको सीप निखारिँदै गएकाले मनुले केही राहत महसुस गरेकी छन् । पहिले उनलाई काम जाने पनि प्रमाणपत्र नभएपछि बिक्री गर्न पनि अप्ठ्यारो परेको थियो । उनले बागलुङ स्थित उद्योग कार्यालयमा परीक्षा दिएर लेबल १ को परीक्षा उत्तीर्ण गरिन् । त्यसअघि उनले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रमा तीन महिने सिलाई तालिम लिएकी थिइन् ।
तालिमले उनलाई बुन्नेमात्र नभइ सिलाईको काममा पनि अब्बल बनायो । उनको मेहेनत नियालेका डिआइआरडिसीका व्यवस्थापक शालिग्राम शर्माले सीप विकास र उपकरणका लागि सहयोग गर्ने बताए ।





