बागलुङ/बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सोमबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
नजिकिँदै गरेको दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा नागरिकलाई सहुलियतका लागि सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए ।
सुपथ मुल्य पसलको शुभारम्भ गर्दै बागलुङका प्रम्ुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले सुपथ मुल्य पसलले सर्वसाधारण नागरिकको दैनिकीलाई सहज बनाउने भएकाले यसलाई भरपुर उपयोग गर्न आग्रह गरे । चाडपर्वका बेला हुने मुल्य वृद्धि र कृतिम अभाव रोक्नका लागि सुपथ मुल्य पसलले महत्वपुर्ण भुमिका निर्वाह उनको भनाई थियो ।
सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र उद्योग वाणिज्य सघंका अध्यक्ष राजन कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी र तेल, आटा, मैदा खरिद गर्न सक्ने छन् । उक्त पसलबाट चिनी प्रतिकिलो १ सय रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३ सय ८०, आटा २ केजी रु १ सय ५० र ५ केजी ३ सय ५० र मैदा २ केजीको १ सय ५० मुल्य तोकिएको छ । प्रतिव्यक्ति अधिकतम ५ केजी चिनी, पाँच किलो नुन र पाँच लिटर तेल किन्न पाइने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
सुपथ मुल्य पसलमा बजार मूल्यभन्दा चिनी प्रतिकिलो ३०, नुनमा २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर ६० रुपैयाँ छुटको व्यवस्था रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म कार्यालय समयभित्र सञ्चालन हुनेछ भने सार्वजनिक बिदाको दिन बन्द रहने छ ।





