बागलुङ/नेपाली काँग्रेसको बागलुङ नगर सभापतिमा नारायण पौडेल र आशिक राजभण्डारीले दाबी गरेका छन् । सभापतिमा दाबी गरेका पौडेल उपसभापति र राजभण्डारी सचिव हुन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको दाबी गरेका हुन् भने राजभण्डारीले पनि आफू सभापतिको आकांक्षी रहेको बताएका छन् ।
पौडेलले पार्टीलाई नगरक्षेत्रमा थप बलियो र सुदृढ पार्टीका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताएका छन् । उपसभापतिको जिम्मेवारी निर्वाह गरिसकेकाले अब सभापतिको जिम्मेवारी सम्हाल्ने स्वाभाविक दाबी रहेको पौडेलको तर्क छ ।
सभापतिका अर्का आकांक्षी राजभण्डारीले संगठन सुदृढीकरणका लागि सभापतिमा दाबी गरेको बताए । ‘‘सचिव भएर पार्टी हाकेको अनुभव छ, नगर तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउन नेतृत्वमा दाबी गरेको हुँ’ राजभण्डारीले भने ।
नगर सभापतिमा दुई जनाको दाबी रहेपनि जिल्ला तहका नेताहरू भने सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छन् । नगर कार्यसमितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न छलफल भइरहेको एक जिल्ला नेताले बताए । ‘गुट–उपगुटको प्रभाव कम हुने देखिएकाले सर्वसम्मत नेतृत्व चयनको सम्भावना छ’ ती नेताले भने ।





