बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

प्रशासन भन्छः कानुन नमान्दा कारवाही

प्रशासन भन्छः कानुन नमान्दा कारवाही

व्यवसायी भन्छन्ः अन्जानका गल्ती माफ गर


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८३, बुधबार

पोखरा/भोटेकोशी बाढीपछि असहज बनेको वितरण प्रणाली र आउँदै गरेका चाडपर्वको मुखमा बजारमा चर्काे मूल्यवृद्धि भएको छ । अस्वभाविक मूल्यवृद्धि र खाद्यान्नमा कैफियत भएका गुनासो बारम्बार आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनदेखि बजार अनुगमनलाई निरन्तरता दिएको छ । प्रशासनले कैफियत भेटिएका व्यवसायीलाई कारवाहीसमेत गरेको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले व्यवसायीले कुहिएको चामल पोलिस गरी अर्काे ब्रान्ड बनाएर बेच्दा भएको कारवाहीमा आपत्ति प्रकट हुनु दुःखद भएको टिप्पणी गरे । बिग्रिएको खाद्यान्न पुनः प्याकिङ गर्नका लागि मेसिन राखिएको र अर्काे ब्रान्डको बोरामा चामल राख्दै गर्दा नियन्त्रणमा लिइएको उनले खुलाए ।

‘म क्यान्सरको सर्भाइबर, सरकारले बचाएर बाचेको मान्छे; अनैतिक काम गर्दिनँ । अनावश्यक आरोप नलगाउनुहोस्,’ उनले भने, ‘व्यवसायीले रिलेबलिङ गर्ने समस्या छ । यो गर्न मिल्दैन ।’ सहायक प्रमुख जिल्ला अधिकारीको टिप्पणी पोखरा उद्योग वाणिज्य संघले निकालेको विज्ञप्तिप्रति लक्षित छ ।

राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीले सोमबार आयोजना गरेको सचेतना कार्यक्रममा बरालले कास्कीको बजार अवस्थाबारे प्रस्तुतिकरणसमेत गरे । सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रण विषयमा केन्द्रित कार्यक्रममा संघकी अध्यक्षले शोभा गौतमले भने व्यवसायीको बचाउ गरिन् ।

उनले व्यवसायीबाट अन्जानमा गल्ती भएको जनाउँदै वर्षौ लगाएर बनाएको ब्रान्डलाई ध्वस्त गर्ने गरी प्रचारवाजी भएको आरोप लगाइन् । ‘कानुनको ढड्डा चलाउँदा कसैको व्यवसाय ध्वस्त पार्ने काम नगरौं । कसैलाई उठ्नै नसक्ने अनुहार नै देखाउन नमिल्ने गरी अपराधिक करार नगरियोस्’, उनले भनिन् ।

संघ स्वच्छ व्यवसायको पक्षमा रहेको सुनाउँदै गौतमले आफ्नो अधिकार खोज्दा उपभोक्ताको अधिकार खोस्ने काम व्यवसायीले नगरेको जिकिर गरिन् । उनले अन्जानका गल्ती माफ हुनुपर्नेमा जोड दिँदै ठूलो जरिवानाले व्यवसायीलाई गम्भीर धक्का पुग्ने सुनाइन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कानुनभन्दा बाहिर गएर कसैलाई कारवाही नगरेको प्रष्ट पारे । उनले आफू कानुनको पालक भएकाले कानुन बमोजिम नचल्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउने सुनाए । ‘मैले धर्म निभाउँदा जसले धर्म निभाएको हुँदैन त्यसलाई असर गर्छ,’ उनले भने ।

गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालले खाद्य स्वच्छताका लागि सबै जिम्मेवार हुनु आवश्यक रहेको बताए । उपभोक्ता मञ्चका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनले व्यवसायी सच्चिएर व्यवसाय गर्न आवश्यक रहेको बताए । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सरोकारवाला, व्यवसायी र नियमनकर्ता सबैलाई एकै ठाउँमा उभ्याएर उपभोक्ताको हितका लागि कार्यक्रम गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->