पोखरा/सुरक्षित ठानिएका बस्तीहरू नै भोटेकोशीले लपेटेको देखेपछि फिर्के किनारकी बासिन्दा दिलमाया विकको दिमागमा डर थपिएको छ । एकातिर फिर्के उर्लिएमा उनको घर जोखिममा पर्न सक्छ, अर्कातिर पोखरा महानगरले खोलाघर खाली गर्न अन्तिम अल्टिमेटम दिएको छ । पाइलैपिच्छे डरमा बाँचिरहेका फिर्के किनारका बासिन्दा सुरक्षित ठाउँमा स्थानान्तरणको अपेक्षामा छन् ।
पोखरा महानगरको वडा नम्बर १८ को अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडा छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ ।
फिर्के खोलाको अतिक्रमण डरलाग्दो छ । केही स्थानीयले मापदण्डमात्र होइन, खोलामाथि नै बहुतले भवन बनाएका छन् । संघ, संस्थादेखि विद्यालयसम्मले फिर्के अतिक्रमण गरेको देखिएको छ । भूमीहीन सुकुमबासीलाई अन्यत्र व्यवस्थापन गर्ने र अरुलाई हटाउने महानगरको तयारी छ । महानगरपालिकाले फिर्केको खोलाघर भित्रकासंरचना हटाउन थप सात दिनको म्याद दिएको छ ।
सोमबार महानगरपालिकाले सात दिनको म्याद थप गरेको हो । यसअघि भदौ १५ गतेभित्र खोलाघरमा व्यक्तिले बनाएको संरचना हटाउन भनिएको थियो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण म्याद थप गरिएको हो । महानगरको विज्ञप्तिमा भनिएको छ, ‘भदौ १० गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ती र वर्षाको समेत समय भएकाले ती संरचना हटाउने कार्यमा केही ढिलाई हुन गएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । यसपूर्व प्रकाशित सूचना बमोजिम हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थाले त्यस्ता संरचना सात दिन भित्र अनिवार्य रूपमा हटाउनु हुन अन्तिम पटकका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
तोकिएको समयभित्र नहटाएमा महानगरपालिकाले नै हटाउने र त्यसमा लागेको खर्च कानुन बमोजिम सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने महानगरको चेतावनी छ । पोखरा महानगरपालिकाका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख पुरुषोत्तम थापाले सात दिनको मिति थपेको पुष्टि गरे । उनले भदौ १५ भित्र हटाउने पहिलो आदेश रहे पनि भोटेकोशी बाढीका कारण प्रभाव परेको र यो बीचमा कुनै किसिमका कार्य नभएको बताए ।
‘सात दिन म्याद थप भएको छ । त्यसपछि कार्यालयको आदेश के रहन्छ सोही अनुसार हामी अघि बढ्छौं’, थापाले भने, ‘म्याद सकिएपछि हामी अनुगमन पनि गर्छौ, कार्यालयले भत्काउन आदेश गरे हामी एक्सनमा जान्छौं ।’ गएको जेठ १० गते फिर्केमा एकैपटक ३ ठाउँबाट डोजर चलाएर अभियानको सुरुवात भएको थियो ।
फिर्के खोलाघरका १६०संरचनामा डोजर चलाएको थियो । तीमध्ये ५८ संरचना अझै पूर्ण रुपमा भत्काउन बाँकी छन् । २९ वटा संरचना पूर्ण घरधनी आफैँले भत्काउन सुरु गरिसकेका छन् । २२ वटा संरचनामा कुनै काम भएको छैन । २५ वटा स्थायी र २६ वटा अस्थाई संरचना समेत हटाउन बाँकी छन् । ३३ वटा हटाइएको छ भने ५ वटा कम्पाउन्ड वाल भत्काउन बाँकी छ ।
२०८० सालमा पोखरा महानगरपालिकाले वासुदेव पौडेलको नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको नापजाँच गरेको थियो । अहिले खोलाघर खाली गर्न लागिएको र चाँडै मापदण्ड नै कायम गरी फिर्के करिडोर बनाउने महानगरको तयारी छ । ‘अहिले हामीले खोलाघरमात्र खाली गर्न लागेका हौँ, सरकारी निकायका भने मापदण्ड नै खाली गर्न लगाएका छौँ,’ महानगरका मेयर धनराज आचार्यले भने, ‘फिर्केको अतिक्रमण हटाएर यहाँ फिर्के करिडोर बनाउने योजना छ ।’ करिडोर निर्माणका लागि ठूलो बजेट लाग्ने भए पनि रकमको अभाव नहुने मेयर आचार्यको भनाइ छ ।




