पोखरा/कास्कीको पोखरा महानगरपालिकाका वडाहरुले दलित लक्षित बजेट नल्याएको सरोकारवालाले गुनासो गरेका छन् । दलित महिला संघ (फेडो) को आयोजनामा पोखरामा भएको स्थानीय सरकारका योजना नीति र बजेटमा प्रमुख सरोकारवाला र पत्रकारसंग संवादमा दलित जनप्रनिधिले यस्तो बताएका हुन् ।
जिल्ला समन्वय समिति सदस्य सीता विश्वकर्माले महानगरपालिकाले दलितका लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको गुनासो पोखिन् । संघीयताको मर्मअनुसार स्थानीय तहका निर्वाचनको दुई कार्यकाल सकिन लाग्दासमेत वडाहरुले अझै पनि बजेट विनियोजनमा निकै कञ्जुस्याईँ गरिरहेको उनको भनाइ छ ।
‘हिजो गाविस हुँदा लक्षित वर्गका लागि राम्रो बजेट विनियोजन भएको थियो । आज हामी महानगरपालिकामा छौं, तैपनि वडाहरुले लक्षित वर्गका लागि बजेट विनियोजन गर्न खोजेको भेटिँदैन’, उनले भनिन्, ‘हामीमाथि अझै पनि अमानवीय व्यवहार भइरहेको छ । ३३ वडामध्ये एका दुईबाहेकले एक लाखभन्दा माथि दलितका लागि बजेट विनियोजन गरेको देखिँदैन ।’
गैर सरकारी संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेलले दलित महिलामात्रै नभई अझै पनि समाजले महिलामाथि नै विभेद गरिरहेको सुनाइन् । उनले महिलालाई नै शिक्षित बनाएमा मात्रै समाजमा हुने विभेदको अन्त्य गर्न सकिने भनाइ राखिन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बजेट कति छुट्टियो भन्दा पनि आफूहरु कत्तिको सक्षम भयो भन्ने तर्फ विचार गर्न आग्रह गरे । महिलाकै अवस्था नाजुक हुँदा दलित महिलासम्म पुग्न झनै कठिन रहेको र अब नेतृत्व तहमा दलित महिला पुग्नका लागि अहिलेदेखि काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
महानगरपालिका शिक्षा महाशाखाका लेखा अधिकृत नवीनकुमार बरालले महानगरपालिकाले लक्षित समूह अनुसार विनियोजन भएको बजेटबारे प्रस्तुतिकरण गरे । दलितका लागि महानगरपालिकाले १५ लाख विनियोजन गरेको छ ।




