बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसनअन्तर्गत बुधबार बागलुङका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा पालिका अधिवेसन शुरु भएको छ ।
तोकिएको समयमै शुरु भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको बिधान अनुसार स्थानीय पालिकाको सभापति समेत केन्द्रीय महाधिवेसन प्रतिनिधि बन्नेछ ।
अधिवेसनले एक सभापति, महिलासहित २ उपसभापति, एक सचिव, एक सह–सचिव र एक कोषाध्यक्षसहित हरेक वडाबाट एक महिला गरी दुइ जना सदस्य चयन हुनेछन् । त्यस बाहेक ३० वर्ष मुनिका एक महिला र २ खुला सदस्य, दलीततर्फ एक महिलासहित एक खुला सदस्य निर्वाचित बन्नेछन् ।
बुधबार बागलुङ नगर अधिवेसनको उद्घाटन गर्दै केन्द्रीय सदस्य चम्पादेवी खड्काले कांग्रेस एक ढिक्का भएर अगाडि जाने र १५ औं महाधिवेसनले एकताको सन्देश दिने बताइन् । उनले आम कार्यकर्तालाई जोडेर जाने नेतृत्वका लागि महाधिवेसन बन्नुपर्ने पनि बताइन् । यो अधिवेसनमा कांग्रेसले जेनजी समूहको उपस्थिति हुने गरी बिधानको व्यवस्था गरेको छ ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायले कांग्रेसको केन्द्रीय महाधिवेसन निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने गरी अगाडि बढीरहेको बताए । मनमुटाव भएका सबै कार्यकर्ता अट्ने गरी महाधिवेसनको काम अगाडि बढेको उनको भनाई थियो ।
नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माका अनुसार कांग्रेसको महाधिवेसनअन्तर्गत स्थानीय पालिका अधिवेसनमा बरेङ गाउँपालिकामा निर्विरोध नयाँ समिति बनिसकेको छ । मोतीराम गौतमको सभापतित्वमा नयाँ समिति चयन भैसकेको शर्माले जानकारी दिए । अन्य पालिकामा पनि निर्वाचन प्रकृया भैरहेको र अधिकांसमा निर्विरोध परिणाम आउने संभावना रहेको उनले दाबी गरे ।
सर्वाधिक चर्चामा रहेको बागलुङ नगरको सभापतिमा नारायण पौडेल, नारायण श्रेष्ठ र आशिक राजभण्डारीको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपसभापतिमा सिर्जना अधिकारी पौडेल र हायश्वर सुवेदीको उमेदवारी परेको छ । अन्य सबै पालिकामा सौहार्द रुपमा उद्घटन शत्र सकिएर निर्वाचन प्रकृया अगाडि बढीरहेको छ ।




