पोखरा/उत्तरी अन्दमान क्षेत्रमा विकसित भई बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेको छ । त्यसलाई मध्यनजर गर्दै देशैभर उच्च सतर्कता अपनाइएको छ ।
न्यून चापीय प्रणाली शक्तिशाली बन्दा आउन सक्ने विपद्लाई मध्यनजर गर्दै गण्डकी प्रदेशभर नै उच्च सतर्कता अवलम्बन गरिएको छ ।गण्डकी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरूले सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै विपद् टोलीलाई तयारी अवस्थामा राख्नेसम्मको तयारी गरेका छन् ।
न्यूनचापीय प्रणाली शक्तिशाली बन्दा असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने मौसम पूर्वानुमान महाशाखालेजनाएको छ । बुधबार भएको गण्डकी प्रदेश सुरक्षा समन्वययात्मक बैठकले प्रदेशका ११ वटै जिल्लाकोसम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी प्रदेशस्तरका सबै सुरक्षा निकाय पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।
गण्डकीमा बाढी, पहिरो र डुबानको उच्च जोखिम भएकाले क्षति न्यूनीकरण र तत्काल उद्धार तथा राहतका लागि पूर्वतयारी अवस्थामा रहनसबै जिल्ला सुरक्षा समिति र स्थानीय तहहरूलाई अनुरोध गरिएको छ । नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बस्तीहरूमा उच्च सतर्कता अपनाउन जोखिमयुक्त क्षेत्रका नागरिकलाई पूर्वसूचना दिन र सचेत गराउन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको प्रमुख सचिव भूपाल बरालले जानकारी दिए ।
‘जोखिम क्षेत्रहरु पहिल्याएर आवश्यक तयारी गरेका छौँ,’ उनले भने, ‘विपद्को अवस्थामा तत्काल परिचालन हुन प्रदेशका सबै सुरक्षा निकायका विपद् व्यवस्थापन टोलीर प्राविधिक टोलीलाई तयारी अवस्थामा राखे निर्णय भएको छ ।’मनसुनजन्य विपद्का जोखिमयुक्त स्थानहरु पहिचान गरी पूर्वतयारीका काम समन्वयात्मक रुपमा गर्न प्रदेश सरकारले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी यथाशक्य यात्रा नगर्न र पदयात्रामा नजान भनेको छ । सूचनामा सो अवधिमा अत्यावश्यक काममा बाहेक यात्रामा ननिस्किन र पदयात्रामा रहेका पर्यटकलाई समेत सो अवधिमा पदयात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न भनिएको छ ।
कास्कीमा आकस्मिक बाढी आउन सक्ने, पहिरो जानसक्ने, खोला, नदी थुनिने र एकै पटक खोलिदा विनाश निम्त्याउन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । सूचनामा जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधन दिउँसो ४ बजे पछि नचलाउन, राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनसमेत राति सञ्चालन नगर्न भनिएको छ ।
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा बढी जोखिम रहेको औंल्याएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गण्डकी प्रदेशमा बुधबार र बिहीबार जोखिम कम भए पनि शुक्रबारदेखि आइतबार बढी जोखिम भएको बताए । गण्डकीमा हिमाली जिल्लामा हिमपात हुन सक्ने उनको भनाइ छ ।
बिहीबार र शुक्रबार सामान्य वर्षा हुन सक्ने र शुक्रबारदेखि आइतबारसम्म अति भारीसम्म वर्षा हुन सक्ने उनको भनाइ छ । ‘शुक्रबारदेखि आइतबारसम्म अति भारी वर्षा हुन सक्ने देखिएको छ । हिमाली क्षेत्रमा हिमपात हुन सक्छ,’ उनले भने, ‘सोमबारबाट भने मौसममा क्रमशः सुधार आउनेछ ।’




