बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखराबाटै विदेश आउजाउ

पोखराबाटै विदेश आउजाउ

फ्लाई दुबईले दैनिक उडान गर्ने तालिका प्रकाशित गरी नियमित अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८३, बिहिबार

पोखरा/देशकै ठूलो महानगर पोखरामा २ वटा विमानस्थल छन् । पोखरा विमानस्थल मुस्ताङ जाने आउने विमानले मात्र प्रयोग गर्ने गरेका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम अन्तर्राष्ट्रिय भएर पनि आन्तरिक उडानमै सीमित भइरह्यो ।

अन्तर्राष्ट्रिय विमानस्थलले बुधबारबाट नामझैं विदेशसम्म सिधैं आउजाउको सुविधा दिने आशा पलाएको छ । पर्यटन राजधानी पोखरा बुधबारबाट मध्य पूर्वको व्यापारिक केन्द्र दुबईसँग हवाई मार्गबाट जोडिएको हो ।

फ्लाई दुबईले दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ सवा ६ बजे १ सय १३ यात्रु लिएर पोखरा आयो । पोखराबाट १ सय ५३ यात्रु लिएर जहाज फर्किएको छ । फ्लाई दुबईले दैनिक उडान गर्ने तालिका प्रकाशित गरी नियमित अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाएको छ ।

पश्चिमी मुलुकबाट नेपाल आउने पर्यटक र रोजगारीका लागि खाडी मुलुक जाने–आउने नेपालीलाई लक्षित गरी फ्लाई दुबईले सेवा थालेको हो । न्यारो बडी जहाज आउजाउ गर्न सक्ने यो विमानस्थलबाट भारत र चीनका मुख्य सहरहरुमा उडान थाल्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

यसअघि चीनको छुन्दु र तिब्बतको ह्लासा उडान भए पनि यात्रु नहुँदा सेवा चल्न सकेको थिएन । पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले दुबईबाट पोखरा झर्ने यात्रुलाई स्वागत गरेका छन् । उनीहरुले पोखराबाट त्यसतर्फ जाने यात्रुलाई बिदाइसमेत गरे ।

मेयर आचार्यले पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा यात्रा गर्न सकिने नयाँ अध्याय सुरु भएको जनाए । उनले नियमित उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि योगदान गर्ने अपेक्षा सुनाए ।

फ्लाई दुबईको उडानलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुटका विभिन्न योजना सार्वजनिक गरेका छन् । होटल संघ पोखराले उडानको पहिलो तीन महिनाभित्र फ्लाई दुबईबाट आउने यात्रुलाई पोखराका होटलमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट आएका यात्रुलाई पोखरा संस्थाका रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबई–पोखरा–दुबई उडानका लागि गएको जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

नेपाल उद्य्रोग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरा विमानस्थललाई आत्मनिर्भर बनाउन विदेशिक उडानहरुलाई दीर्घकालीन बनाउने दिशामा सोच्न आग्रह गर्छन् । उनले भने, ‘उताबाट पश्चिमा पर्यटक र नेपाली कामदारहरु आउलान्, तर यताबाट यात्रु भएनन् भने उडान दीर्घकालीन हुँदैन ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विगतका अभियानमा समेत सहभागी मुल्मीले फ्लाई दुबईको सेवाको प्रचारप्रचार सँगसँगै भारत र चीनका ठूला सहरहरुमा उडान भर्न कूटनीति पहल लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->