बागलुङ/तीन दिनदेखि बागलुङमा निरन्तर झरी परेको छ । झरीले बागलुङका मुख्य सडकमा पहिरो आइ यातायात पुर्ण रुपमा ठप्प भएका छन् । वर्षात्का कारण कालीगण्डकी, दरमखोला र बडिगाडमा जलसतह बढेपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका वडा नं. ४ को कानाबगरमा खसेको पहिरोले यातायात ठप्प भएको छ । लेदो पहिरोमा गाडी समेत फसेकोले एस्काभेटर लगाएर निकालिएको प्रहरी निरीक्षक याम नारायण कँडेलले जानकारी दिए ।
लोकमार्गको विभिन्न स्थानमा साना पहिरो खसेका छन् भने बाटो हिलाम्मे भएकोले जिल्ला भित्रको यातायात समेत चलेको छैन । लामो दुरीका सवारीलाई प्रशासनले बिहिबार रातिबाटै चल्न दिएको छैन । लोकमार्गको बिहुँ, मल्म लगायतको स्थानमा पहिरोमा लेदो र ढुंगा खसेका छन् भने तत्काल सडक खुलाउने प्रयास गर्न कठिन भएको प्रहरीले बताएको छ ।
तर अत्यावस्यक सेवाको सवारी चलाउन प्रहरी, सेना र सशष्त्र प्रहरीबल परिचालन गरेर प्रयासरत रहेको पनि बताइएको छ । लोकमार्गकै गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको चौराहमा खसेको पहिरो भने नेपाली सेनाको कालीजंग गण र इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको टोलीले खुलाएको थियो ।
यो सडकमा अलपत्र परेकी शिशु सहितकी सुत्केरीको उद्दार गरेर धौलागिरि प्रादेशिक अस्पतालमा पठाएको प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिए ।
कालीगण्डकी करिडोरमा पनि ठाउँठाउँका पहिरोले सडक अवरुद्व छ । जैमिनी नगरपालिका वडा नं. ८ को बेलबगरमा खसेको पहिरोले करिडोर अवरुद्व छ । निरन्तरको वर्षातले सडक खुलाउन कठिन भएको प्रहरी निरीक्षक कँडेलले जानकारी दिए । मालढ्ुंगा–कुश्मीसेरा सडकको सालबोटमा पनि निरन्तर लेदो बग्दा यातायात चल्न सक्ने अवस्था छैन ।
बागलुङदेखि पोखरा, काठमाण्डौंलगायतका लामो दुरीका सवरी चलेका छैनन् । अत्यावस्यक परेर हिंडेका मानिस समेत बागलुङ बजारमै छन् । स्थानीय प्रशासनले जोखिम हुने कुनैपनि स्थानीय सडकमा जबरजस्ती सवारी चलाउन रोक लगाएको छ ।




