पोखरा / महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले नेपालीको महान पर्व दसैंलाई पर्यटनलाई जोड्ने गरी महोत्सव गर्ने भएको छ । ‘टीका जमरा र चंगा चेट, पोखरामा पर्यटकसँग दसैं भेट’ भन्ने नाराका साथ आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ हुन लागेको हो ।
नेपाली समाजको पारिवारिक पुनर्मिलन आशीर्वाद परम्परा र संस्कृतिलाई पर्यटनसँग जोडेर विश्वसामु चिनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको संयोजक उमादेवी भण्डारीले बताइन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दिन विदेशी पर्यटकलाई टीका र जमरासमेत लगाउने कार्यक्रम रहेको जनाइन् ।
महोत्सव कोजाग्रत पूर्णिमाको दिन बिहान साढे १० बजेदेखि सुरु हुनेछ । महोत्सवमा चङा चेट, चमरेली पिङ तथा घुमाउने पिङ, विभिन्न जातका मौलिक सांस्कृतिक प्रस्तुतिसमेत रहने छन् । ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले यो कार्यक्रम सिग्नेचर कार्यक्रमका रुपमा रहने बताइन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख जयशक्ति सर्राफले बोर्डको तर्फबाट सहयोग रहने सुनाउँदै नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा दसंै किन मनाइन्छ भन्ने विषयमा समेत पर्यटकलाई जानकारी गराउन आवश्य रहेको बताए । उनले निजी क्षेत्रले पर्यटन प्रबद्र्धनका लागि निकै मिहेनत गर्दै आएको उल्लेख गरे ।
संस्थाकी अध्यक्ष ममता न्यौपानेले सोही अवसरमा कवड्डी प्रतियोगिताको समेत हुने जानकारी दिइन् । उनले महोत्सवलाई आगामी वर्षसमेत निरन्तरता दिने सोच सुनाइन् । कोजाग्रत पूर्णिमामा फेवाताल स्थित तालवाराही मन्दिरमा मेला लाग्ने गर्दछ ।





