बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भारी हिमपात र निरन्तर झरी

भारी हिमपात र निरन्तर झरी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अहिलेको अवस्था प्रतिकूल रहेकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

पोखरा / देशका अधिकांश भूभागमा बिहीबारदेखि अविरल वर्षा भइरहेको छ । केही स्थानमा भारीदेखि धेरै भारी पानी पर्दा बाढी, पहिरो तथा डुबानको जोखिम देखिएको छ । गण्डकी प्रदेशमा पनि बिहीबारदेखि नै वर्षा भइरहेको छ । शुक्रबार मुस्ताङ, मनाङ र गोरखाका हिमाली क्षेत्रमा हिमपात भएको छ ।

मौसमविद् हरिप्रसाद दाहाल शनिबार तराईका सबैजसो क्षेत्रमा पानी पर्ने बताउँछन् । कोशी र मधेस प्रदेशका तराईमा केही ठाउँमा भारी र केहीमा धेरै भारी पानी पर्ने सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरका केही ठाउँमा अतिभारीसम्म पानी पर्न सक्ने उनले बताए ।
शनिबार (अाज)  तराईका क्षेत्रमा हावाहुरीको सम्भावनासमेत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् दाहालले बताए । गण्डकीमा सबैजसो पहाडी भूमागमा मध्यम वर्षा र एक, दुई स्थानमा अतिभारीसम्म वर्षा हुने उनले जनाए । हिमाली भूभागमा हिमपात हुने र वर्षासमेत हुने उनले बताए ।
मौसमविद् दाहालले भने, ‘गण्डकीका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । अाज भारी हिमपात हुने सम्भावना छ ।’ शुक्रबार नेपालभर वर्षा भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी र केही स्थानमा धेरै भारी वर्षा भएको छ ।
मौसमविद् रोजन लामिछानेले अझै थप वर्षा हुन सक्ने सम्भावना रहेकाले अझ बढी सावधानी र सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अहिलेको अवस्था प्रतिकूल रहेकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । देशका अधिकांश प्रदेश तथा जिल्लामा सामान्यदेखि भारी र केही स्थानमा धेरै भारी वर्षा भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी उपसचिव शान्ति महतले तत्काल अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरिन् । तराईका होचा तथा डुबानको जोखिम भएका क्षेत्रमा बाढी तथा डुबान र पहाडी तथा भिरालो भूभागमा रहेका बस्तीमा पहिरोको जोखिम रहेकाले बसोबास क्षेत्रको जोखिम पहिचान गरी सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणले सम्भावित विपद्को अवस्थालाई ध्यानमा राख्दै निगरानी तथा सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ । वर्षाको प्रभाव दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत पर्नसक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शुक्रबार नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरला नाका क्षेत्र सेताम्मे भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जिल्लामा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको र उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा हिमपात भएको उल्लेख गरे ।

कोरलामा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीमा समस्या देखिएको छ । नाकामा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ । बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात देखिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले सुनाए ।

वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो अचाक्ली बढेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने औंल्याएको थियो । बाढीपहिरो, नदी कटान लगायतका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बिहीबार रातिदेखि ४ दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म राति यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए । घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदी उच्च भई जोखिम सिर्जना हुन सक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->