पोखरा / पोखरामा प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म र पर्यटनलाई जोड्ने उदेश्यका साथ शुक्रबारदेखि नोम्याड्स बेसक्याम्प २०२६ सुरू भएको छ । आइतबारसम्म चल्ने कार्यक्रममा स्वदेसी तथा विदेशी डिजिटल नोमाड, उद्यमी, स्टार्टअप संस्थापक, प्रविधि विज्ञ, क्रिएटर, रिमोट वर्कर, पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालासहित १ सय ५० जनाको सहभागिता छ ।
कार्यक्रम पोखरा पर्यटन परिषद् र साराङ सर्भिसेस प्रालिको संयुक्त आयोजनामा तथा नेपालिज यङ इन्टरप्रेनर्स फोरम पोखरा च्याप्टरको रणनीतिक साझेदारीमा कार्यक्रम भएको हो । क्याम्प परिषद अध्यक्ष हरि भुजेल र साराङ सर्भिसेजका सचिन डाँगीले संयुक्त रूपमा सुरुआत गरे ।
शुक्रबार प्रविधि, नवप्रवर्तन र उद्यम केन्द्रीत भई आर्टिफिसियल इन्टेलिजेन्स, प्रविधि, स्टार्टअप, डिजिटल उद्यमशीलता, मोबाइल गेमिङ, सिर्जनशीलता, युवा सशक्तीकरण तथा प्रविधिसम्बन्धी छलफल र प्रस्तुति भएका छन् ।
शनिबार ध्यान, योग, पर्यटन तथा प्रविधिसम्बन्धी सत्रसँगै सहभागीलाई मादी पु¥याएर १२ किलोमिटरका रनिङ ट्याकसहित मादी रन तथा एडभेन्चर एक्सपेरियन्समा सहभागी बनाइने छ ।





